आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

“
काठमाडौं, फागुन ४ । ओलीको अवसर र चुनौती : नागरिक
एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएसँगै उनकासामु अवसर र चुनौतीका चाङ पनि प्रशस्तै देखिएका छन् ।
ओलीले आगामी दिनमा आफ्नै पार्टी एमाले, सत्ता साझेदार दल माओवादी केन्द्रदेखि प्रतिपक्षी दलहरुसँगको समन्वय र सहकार्यलाई के कसरी लैजान्छ भन्ने कुराले धेरै हदसम्म उनको सफल्ता, असफल्ता निर्धारण गर्नेछ ।
संघीयतालाई संस्थागत गर्ने विषय प्रधानमन्त्री ओलीका लागि अवसर र चुनौती दुवै हो ।
त्यसैले पनि ओली सरकारले स्रोतसाधनको पहिचना गर्नेदेखि विकास निर्माणमा त्यसको अधिकतम उपयोग गर्नेतर्फ ध्यान केन्द्रित गर्न आवश्क छ ।
ओलीको पुनरागमन : कान्तिपुर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षपछि सत्तामा पुनरागमन गरेका छन् । नयाँ संविधान जारी भएलगत्तै पहिलोपटक सत्तारोहण गर्दा जुन दलसँग साझेदारी थियो, त्यही दलसँग गठबन्धन बनाएर ओली दोस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।
संवैधानिक प्रावधान तथा वाम गठबन्धनको सुविधाजनक बहुमतका कारण यो सबभन्दा दिगो कम्युनिस्ट सरकार बन्ने सम्भावना छ, तर यो कुरा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया कुन रूपमा जान्छ भन्नेमा निर्भर हुन्छ । वाम गठबन्धनले स्थिर सरकार, सुशासन र समृद्धिका जुन–जुन प्रतिबद्धताका साथ चुनावमा होमिएर बहुमत हासिल गर्यो, तिनैलाई मूर्तरूप दिनु यो सरकारको मुख्य चुनौती हुनेछ ।
भर्खरै स्थापित संघीय शासन प्रणाली र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने, विकासका ठोस कार्यहरू अगाडि बढाउने, छिमेकीहरूसित सन्तुलित कूटनीतिक सम्बन्ध राख्नेजस्ता महत्त्वपूर्ण दायित्व छँदै छन् ।
यसपटक कम्युनिस्ट नेतृत्वको सरकारलाई सत्तासाझेदार वा विपक्षी दल वा कुनै राजनीतिक मुद्दाका कारण काम गर्न पाइएन भनी बहानाबाजी गर्ने छुट छैन । त्यसले प्रधानमन्त्री ओलीले जनअपेक्षा पूरा गर्ने दिशामा सुरुबाटै कदम चाल्न थाल्नुपर्छ ।
दिगो सरकारको चाहना : नेपाल समाचारपत्र
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीबाट सपथ पनि लिइसक्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई आगामी कार्यकालको सफलताको कामनासहित हार्दिक शुभकामना ∕ साथै प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको नयाँ सरकारलाई समेत दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरि हितमा काम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछौं ।
निर्वाचन आयोगले गत बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । अब नवनियुक्त प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।
हुन त वामगठबन्धनको सहमति र योजनाअनुसार नै प्रधानमन्त्री बन्नुभएकाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त गर्न कुनै कठिनाइ नपर्ला ।
अब जनताले स्थायी सरकार चाहेका छन् । यसैका लागि वामगठबन्धनलाई रोजेका हुन् । त्यसैले प्रधानमन्त्री ओली नेतृत्वको सरकार दिगो होस् । उहाँलाई आगामी कार्यकालको सफलताको कामना !
क्रिकेटमा सफलतासँगै चुनौती : अन्नपुुर्ण
आन्तरिक विवादका कारण लामो समयदेखि नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बनमा रहे पनि त्यसले हाम्रा खेलाडीको आत्मविश्वास भने डग्मगाएको छैन।
हाल नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा खेलाडीले गरेको अविश्वासिलो प्रदर्शन त्यसैको पछिल्लो उदाहरण हो। आईसीसीबाट घरेलु क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ ९क्यान० निलम्बनमा रहँदा त्यसको प्रत्यक्ष÷परोक्ष प्रभाव खेलाडीमा पर्नु स्वाभाविक हो।
डिभिजन २ जस्तो महत्वपूर्ण प्रतियोगिताको तयारीमा समेत त्यसको असर देखिएको यथार्थ कसैबाट लुकेको छैन।
यसअघि नै एकदिवसीय विश्वकपको समेत अनुभव बटुलिसकेको क्यानडा, केन्या, संयुक्त अरब इमिरेट्सजस्ता प्रभावशाली राष्ट्र लामो समयदेखि डिभिजन २ को तयारीमा व्यस्त रहँदा क्यान निलम्बनको मारमा परेका हाम्रा खेलाडी भने घरभित्रै पनि उपयुक्त तयारीको अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता अर्को कटु यथार्थ हो।
विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्ड, पपुवान्युगिनी, हङकङ र यूएईमध्ये शीर्ष तीनभित्र अटाउन सके नेपालले आईसीसीबाट चार वर्षका लागि पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्नेछ।
हामीलाई अहिलेको प्रतिबद्घता, लगानी, परि श्रम र वातावरण पर्याप्त छैन। यसका लागि सबैभन्दा पहिले खेल पदाधिकारीको आपसी द्वन्द्वबाट सृजित परिस्थितिले दिने मानसिक तनावबाट खेलाडीलाई मुक्त बनाउनु आवश्यक छ। सँगसँगै खेलाडीलाई पर्याप्त सुविधा उपलब्ध गराएर निरन्तर रूपमा आन्तरिक र वैदेशिक प्रशिक्षणमा व्यस्त बनाउन सक्नुपर्छ।
“








