यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

काठमाडौं, फागुन ३ । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जन्म विसं २००८ साल फागुन ११ गते भएको हो । ४१ औं प्रधानमन्त्री बनेका ओलीको प्रधानमन्त्रीका रुपमा यो दोस्रो सिंहदरबार प्रवेश हो । यस अघि २०७२ मा यिनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
नेकपा (एमाले)का वर्तमान अध्यक्ष ओली विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए । विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए ।

जीवनी
खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए । ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए ।

ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए । विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी नेकपा (एमाले)को संसदीय दलका नेता पनि हुन् ।

झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए । ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण भए।

उनी भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् । ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =