राम रहीमको अस्पतालमा सामूहिक लिंगच्छेदको खुलासा

“काठमाडौं, ३ फागुन । दुई साध्वीलाई बलात्कार गरेको अभियोगमा २० वर्षको कारावास सजाय भोगिरहेका बाबा गुरमीत राम रहीमविरुद्ध सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन (सीबीआई) ले नयाँ खुलासा गरेको छ ।
सीबीआईको अभियोगपत्रमा राम रहीमको सिरसास्थित पुरानो छापाखाना भवन तथा दुई परोपकारी अस्पतालमा सामूहिक लिंगच्छेद गरिने गरेको उल्लेख छ ।
डेरा सच्चा सौदाको लिखित सामग्री छाप्ने उक्त छापाखानामा सीबीआईले खानतलाशी गर्दा पुरानो भवन र अण्डाकार छत देखियो ।
सीबीआईका अनुसार, शाह सतनामजी विशेष अस्पतालमा पनि अवैध लिंगच्छेद हुने गरेको थियो । अस्पतालको वेबसाइटले यो सन् १९९५ मा गरीबहरूलाई सेवा गर्ने उद्देश्यले खोलिएको बताए । हजारौं गरीब रोगीहरूलाई सित्तैमा उपचार गरिएको पनि वेबसाइटमा दाबी गरिएको छ ।
सीबीआईले अस्पतालको दोस्रो तल्लामा पाँचवटा अपरेसन थिएटर रहेका र त्यहाँ सर्जरी हुने गरेको पत्ता लगायो ।
राजस्थानको शाह सतनामजी जनरल अस्पतालमा पनि सामूहिक लिंगच्छेद गर्ने गरिएको पत्ता लगाइयो । उक्त अस्पतालको भुइँतल्लामा अपरेसनका लागि चाहिने सरसामग्री सीबीआई टोलीले भेट्यो ।
एजेन्सी“








