पुरानोले राजीनामा बुझाए, नयाँले हतोहात नियुक्ति पाए

“काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई राजीनामा बुझाउनु र केपी ओलीले प्रधानमन्त्री पदको नियुक्ति पाउनु शीतल निवासमा छापामार शैलीमा भएको छ ।
शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेर राष्ट्रपतिलाई राजीनामा पत्र बुझाउन नजाँदै केपी ओली प्रधानमन्त्रीको दाबी गर्न शीतल निवास पुगिसकेका थिए । तर, नयाँ र पुराना प्रधानमन्त्रीबिच शितलनिवासमा भेट भने भएन ।
प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा पुग्दा केपी ओलीसहित वाम गठबन्धनका नेताहरु शीतल निवासको एउटा कोठाभित्र थिए ।
देउवा आउनु अघिसम्म राष्ट्रपति भण्डारी वाम गठबन्धनका नेताहरुसँग कुराकानी गरिरहेकी थिइन् । तर, देउवा आएपछि उनलाई अर्कै कोठामा राखियो र राष्ट्रपतिले त्यहीँ गएर राजीनामा पत्र बुझिन् । देउवालाई विदा गरेपछि राष्ट्रपति भण्डारी फेरि वाम गठबन्धनका नेताहरु भएको ठाउँमा आइन् ।
त्यसपछि उनले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक पत्र दिइन् ।
अन्ततः पुरानो प्रधानमन्त्रीले राजीनामा बुझाउने र नयाँले नियुक्तिपत्र लिने काम लगभग छापामार शैलीमा छिटोछिटो भयो ।
अब बिहिबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रम छ, सपथ ग्रहणमा पुरानो प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीसँग औपचारिकरुपमा कुर्सी साटासाट गर्ने प्रचलन छ । त्यहाँ ओली र देउवाले हात मिलाएर बधाइ अनि धन्यवाद ज्ञापन गर्नेछन् ।”








