झापा गाेल्डकप विजेतालार्इ साढें १२ लाख

फागुन २, झापा । झापाकै ठूलो फुटवल प्रतियोगिता ‘झापा गोल्डकप’को तेस्रो संस्करण फागुन १९ गतेदेखि सुरु हुने भएको छ । रमपम झापा ११ फुटबल क्लवको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता आयोजक समितिले मङ्गलवार विर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तीब्र पारिएको जानकारी दिएका छन् ।प्रतियोगितामा नेपालका नौ र भारतको एक गरी १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

प्रतियोगितामा झापा ११, रुपन्देही, मनाङ मस्र्याङ्दी, हिमालय शेर्पा, सुदूरपश्चिम ११, थ्रीस्टार र विभागीय तीनवटा टीमले सहभागिता जनाउने छन् । भने, अन्तराष्टिय टिममा भारतको सिक्किम युनाइटेड क्लवको सहभागीता रहनेछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।

मोफसलमा सर्वाधिक राशीको यो गोल्डकपमा आयोजक समितिले बर्सेनि पुरस्कारको रकम बृद्धि गर्दै लगेको छ । अघिल्लो वर्ष विजेता टीमले सात लाख रुपैयाँ पुरस्कार पाएको थियो । यसवर्ष बिजेता टीमले १२ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ । गतवर्ष उपबिजेता टीमले तीनलाख ५० हजार रुपैयाँ पाएको थियो । यसवर्ष छ लाख पुरस्कार पाउनेछ । ‘पहिलो र दोस्रो संस्करणको अपार सफलताले हामी अझै उत्साहित भएका छौँ, झापा गोल्डकप हाम्रो प्रतिष्ठान र गौरब हो ।’ अध्यक्ष गिरीले पत्रकार सम्मेलनमा भने ।

आयोजक क्लबले यसवर्ष टिकट बिक्रीबाट ४२ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले अघिल्ला संस्करण भन्दा यसपटक अझ ब्यवस्थित र बृहद् बनाउने दावि गरे । यसवर्ष प्रतियोगिता सञ्चालनका लागि एक करोड रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।

झापा ११ बाट खेल्दै आएका खेलाडी अरु टीममा अनुबन्ध हुन थालेपछि आयोजक समितिका अध्यक्ष तथा पदाधिकारी सदस्यले आफू आबद्ध व्यवसायिक तथा सामाजिक सङ्घसंस्थामार्फत खेलाडीलाई अनुबन्ध गर्न थालेका छन् । आयोजक समितिका अध्यक्ष महेन्द्र गिरी र पूर्व अध्यक्ष होम पाण्डेको अगुवाईमा दुईजना खेलाडी अनुबन्धित भइसकेका छन् ।

दुई वर्षका लागि अनुबन्धन गरिएका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था गरिएको छ । फागुन १९ सम्ममा थप तीनजना खेलाडीलाई अनुबन्ध गर्ने तयारी भइरहेको आयोजक समितिका अध्यक्ष गिरीले बताए । प्रतियोगितालार्इ भब्य र ब्यवस्थित गराउन कुनै कसर बाँकी नराख्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा सहभागी क्लवहरू

त्रिभुवन आर्मी क्लव, मनाङ्ग मस्याङ्गरी क्लव, रमपम झापा ११, रूसलान थ्रिस्टार क्लव, नेपाल एपिएफ क्लव, नेपाल पुलिस क्लव, अग्नि रूपन्देहि ११, हिमालयन शेर्पा क्लव, सुदुरपश्चिम ११ र साहारा क्लव पोखरा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =