प्रधानमन्त्रीको सम्बोधन आउने, राजिनामाको सम्भावना

“काठमाडौं, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छाड्ने पूर्वसन्ध्यामा आज जनताको नाममा सम्बोधन गर्दैछन् ।
८ महिना लामो सत्ता नेतृत्व लिएका देउवाले तीन तहको निर्वाचन सफल गरेलगायत सरकारले गरेका कामबारे आज सम्बोधन गर्ने तयारी भएको हो ।
सरकारले गरेका कामबारे जानकारी दिँदै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यता, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने टुंगो भईनसकेको बताएका छन् ।
मन्त्री विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम राष्ट्रपतिलाई बुझाए आजै नभए भोली प्रधानमन्त्री देउवाले राजीनामा दिने प्रष्ट पारे ।
आज रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम राष्ट्रपति समक्ष नबुझाएसम्म प्रधानमन्त्री देउवाले राजीनामा दिन नमिल्ने तर्क पनि गरे ।”








