पाँच नं प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

बुटवल, फागुन २ । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख उमाकान्त झाले बुधबार अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ अनुसार पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले बुधबारै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् । भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीको गृहकार्य छ ।

एमाले र माओवादी केन्द्रले पोखरेलको नेतृत्वमा सरकार गठन गर्न माघ २८ गते दाबी प्रस्तुत गरेका थिए । उनी वाम गठबन्धनका साझा उम्मेदवार थिए । उनलाई प्रदेशसभाको चुनाव अगावै नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीको सार्वजनिक घोषणा गरेका थिए । नेता पोखरेल दाङको क्षेत्र नं. २ को प्रदेशसभा १ बाट निर्वाचित भएका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा एमाले–माओवादीको प्रष्ट बहुमत छ । एमालेका ४१ र माओवादीका २० गरी ६१ सांसद वाम गठबन्धनकै छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेल अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेको अनुभव छ । २०१९ फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, हाडीमा जन्मेका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =