नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, २१ राउण्ड अश्रुग्यास प्रहार

“
रौतहट, फागुन २ । रौतहटको बृन्दावन नगरपालिकाको कार्यालय सार्ने विषयको विवादले झडपको रुप लिएको छ ।
नगरपालिकाको कार्यालय ५ किलोमिटर टाढा हर्षाहा चोकमा सार्न खोजेपछि स्थानीयवासीले रोक्नका लागि नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन् । स्थानीयवासीले ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २१ राण्ड अश्रुग्यास तथा लाठी प्रहार गरेको छ ।
झडपमा परी एक बालक गम्भिर घाइते भएका छन् भने दर्जन भन्दा बढी घाइते भएको स्थानीयले बताएका छन् । झडपमा केही प्रहरी समेत घाइते भएका बताइएको छ ।
स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्लाका अन्य युनिटहरुबाट प्रहरी र सशस्त्र प्रहरीलाई त्यहाँ पठाइएको रौतहटका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
स्थानीयवासीहरु विश्राम्पुरबाट कुनैपनि अवस्थामा कार्यालय सार्न नदिने अडान राखेर कार्यालयमा ढुंगामुढा गर्न नछोडेपछि अश्रुग्यास प्रहार गरेको एसपी पोखरेलले बताए ।
स्थानीयवासीले नगरपालिकाको कार्यालयको कम्पाउण्डका ढोका फुटालेर कम्पाउण्ड भित्र प्रवेश गरिसकेका छन् ।
नेपाल सरकारको नीतिअनुसार नगरअधिवेशन पछिको पहिलो बैठकबाट मेयर सहितका पदाधिकारीहरुले विश्राम्पुरबाट नजिकै रहेको गौर चन्द्रनिगाहपुर सड्कखण्डमा पर्ने हर्षाहा चोकमा नगरपालिकाको कार्यालय सार्ने निर्णय गर्न लाग्दा स्थानीयवासी आक्रोशित भएका हुन् ।
“








