प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त, प्रदेश ७ ले भोली मुख्यमन्त्री पाउने

“काठमाडौं, फागुन २ । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा सो प्रदेशका नेकपा एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् ।
उनले भोलि (बिहिबार) दिउँसो ३ बजे विराटनगरीस्थत बिरेन्द्र सभा गृहमा सपथ ग्रहण गर्ने कार्यक्रम छ । राईले भोलि नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताइएको छ ।
यस्तै, प्रदेश नम्बर ७ ले भोली मुख्यमन्त्री पाउने भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लको अध्यक्षतामा आज भएको छलफलले माओवादी केन्द्रबाट सिफारिस गरिएका त्रिलोचन भट्टको नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका प्रदेश सांसद भट्ट डोटीबाट निर्वाचित भएका हुन् । फागुन ५ गते सपथ ग्रहणको कार्यक्रम पनि तय भएको छ ।
५३ सांसद रहेको प्रदेशसभा ७ मा सबैभन्दा ठूलो दल नेकपा एमालेको २५ सिट र नेकपा माओवादी केन्द्रको १४ सिट रहेको छ । यी दुई दल मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।
यता, प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भइसकेका छन् ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आज उनलाई एक कार्यक्रमकाबिच मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको भोली शपथ लिने कार्यक्रम छ ।
उता, प्रदेशसभा ५ को सभामुखमाा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् । आज बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए । सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् ।
सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ ।”








