भरतपुर महानगरपालिका उत्कृष्ट !

“
भरतपुर, माघ २९ । भरतपुर महानगरपालिका उत्कृष्ट घोषणा भएको छ । नगर विकास कोष काठमाडौँले भरतपुर महानगरलाई उत्कृष्ट घोषणा गरेको हो । नगर विकास कोषले फागुन २ गते भरतपुर महानगरलाई सम्मान गर्ने जनाएको छ । कोषले प्रवाह गरेको ऋण, पूर्वधार विकास तथा असल ऋणीकोे आधारमा भरतपुर महानगर उत्कृष्ट घोषित भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका उत्कृष्ट घोषित भएकोमा थप हौसला मिलेको बताइन् । कोषले महानगरभित्र हुने पर्ने विकास निर्माण, कार्य दक्षता, कार्यसम्पादन, सुसाशनको सुचकको आधारमा उत्कृष्ट महानगर छनौट गरेको हो ।
भरतपुर महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि कारणले मुलुककै अग्रणी नगरीको रुपमा आफ्नो पहिचान बनाएको छ । विसं २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाएर भरतपुर नगर पञ्चायत बनाइएको थियो ।
२०४८ सालमा भरतपुर नगरपालिका बन्यो । २०७१ सालमा भरतपुर नगरपालिका आसपासका गाविस मंगलपुर, फूलबारी, गीतानगर, शिवनगर, र पटिहानी समावेश गरेर भरतपुर उपमहानगरपालिका बनाइयो । २०७३ फागुन २७ गते नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाविसलाई थप गरी भरतपुर महानगरपालिका बनाइएको हो । महानगरपालिका भएको एक वर्ष नपुग्दै भरतपुर उत्कृष्ट घोषित भएको हो ।
“








