माथिल्लो त्रिशुली ३-बी को सम्झौता, तीन वर्षमा निर्माण गरिने

“
काठमाडौं, माघ २९ । ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाको निर्माण सम्झौता भएको छ। माथिल्लो त्रिशुली ३ बी को प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी र चिनियाँ कम्पनी सिचुवान आनहे हाड्रुलिक एण्ड हाइड्रोइलेक्ट्रिक ईन्जिनियरिङ कम्पनी लिमिटेड बिच ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि खरिद सम्झौतामा सोमबार हस्ताक्षर भएको छ।
कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र सिचुवानका तर्फबाट काओ सेनपिङले सम्जौतामा हस्ताक्षर गरेका छन्।
सम्झौतामा सिचुवानले आयोजनाको प्रशारण लाईन बाहेक सिभिल, इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल तर्फको सम्पूर्ण संरचनाको निर्माण तथा मेसिनरी आपूर्ति र जडानको काम गर्नेछ।
आयोजना निर्माणको सम्झौता रकम मूल्य अभिबृद्धि कर सहित तीन करोड १८ लाख ४७ हजार ८३८ अमेरिकि डलर (एक अर्ब ९१ करोड ४६ लाख १९ हजार ४७२ रुपैयाँ) रहेको छ।
उक्त आयोजना इन्जिनियरिङ प्रोक्रुमेन्ट एन्ड कन्सट्रक्सन पद्धतीबाट निर्माण हुने आयोजनाले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण द्धारा निर्माणाधिन माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको क्यासकेड आयोजनाको रुपमा सञ्चालन हुने आयोजनाबाट सुख्खायाममा १३४.८८ गिगावट हावर र वर्षायाममा १५७.७० गिगावट हावर गरि वार्षिक २९२.५८ गिगावाट हावर विद्युत उत्पादन गर्नेछ।
आयोजनाबाट उत्पादित विद्युत बिक्रिको लागि कम्पनी र नेपाल विद्युत प्राधिकरणबिच गत भदौ ६ गते विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) भैसकेको छ।
“








