एमाले माओवादी एकताको गाँठो फुक्यो, ओली-प्रचण्ड दुबै सह अध्यक्ष, जवज र माओवाद कायमै

“
काठमाडौं, माघ २९ । एमाले माओवादीबीच केही समयदेखि रहेको पार्टी एकताको गाँठो फुकेको छ । पार्टी शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व, वैचारिक विषय र सांगठनिक स्वरुपमा लगभग सहमति जुटेको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रले दुई कार्यकारी पद प्रधानमन्त्री र पार्टीअध्यक्षमध्ये एक आफूले पाउनु पर्ने अडान लिँदै आएको थियो । भने एमालेले कम्तिमा महाधिवेशनसम्म केपी शर्मा ओली र प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुपर्ने सुझाएको थियो । पार्टी नेतृत्वको विषयमा कुरा नमिलेपछि पछिल्लो एक महिनादेखि एकताको विषयमा प्रगति हुन सकेको थिएन ।
पछिल्ला केही हप्तादेखि महाधिवेशसम्म एमालेले केपी ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने प्रस्ताव गर्दै आएको थियो । दुबै पार्टी एक कदम पछि हटेर नेतृत्वको विषयमा सहमति जुटाएका छन् । अब महाधिवेशनसम्म केपी ओली र प्रचण्ड सहअध्यक्ष रहनेछन् ।
आज भएको शिर्ष नेताद्धयको भेटमा दुबै नेता सहअध्यक्ष रहने गरी कुरा टुंगिएको नेताहरुले बताएका छन् ।
पार्टी एकताको अर्को प्रमुख मुद्दा वैचारिक दृष्टिकोणबारे पनि दुई नेताबीच सहमति जुटेको छ । एमालेले अंगिकार गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवादबीच कसरी वैचारिक संश्लेषण गरेर जाने भन्ने दुई पार्टीबीच विवाद थियो ।
अहिलेलाई जबज र माओवाद दुबैलाई कायम राख्दै महाधिवेशनमा गएर वैचारिक संश्लेषण गर्ने सहमति पनि शीर्ष नेताहरुले गरेका छन् ।
संगठनका सवाल दुबै पार्टीका केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिलाई समायोजन गरेर एउटै केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समिति बनाउने सहमति भएको छ ।
एकीकृत पार्टीको यी माथिल्ला कमिटीमा दुबै पार्टीका कति कति नेताहरु रहने भन्नेबारे अझै केही छलफल बाँकी रहेको एक एमाले नेताले बताए ।
बुधबार बस्ने संयोजन समितिको बैठकले भरसक बाँकी सबै विषयमा सहमति जुटाउने नेताहरुले बताएका छन् । फागुन पहिलो हप्तामै सरकार गठन गर्ने सहमति भएकाले पार्टी एकताको सहमति त्योअघि नै भइसक्ने माओवादीका एक नेताले बताए ।
“








