२३औँ जनयुद्ध दिवस : वैद्यले लगाए प्रचण्डमाथि ‘धोका दिएको’आरोप

काठमाडौं, माघ २९ । फागुन १ गतेलाई माओवादीका विभिन्न घटकहरुले जनयुद्ध दिवसका रुपमा मनाउने गर्दछन् । दशवर्षे जनयुद्ध गरेको माओवादी अहिले थरी थरीका समुहमा विभाजित छन् । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड जनयुद्धको विरोध गर्ने पार्टी एमालेसँग पार्टी एकता गर्ने तयारीमा छन् भने अर्का नेता बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन नै परित्याग गरेर नयाँ शक्ति बनाइसकेका छन् । प्रचण्ड र बाबुरामले क्रानितलाइ धोका दिएको भन्दै मोहन वैद्यले अलग्गै पार्टी सञ्चालन गरिरहेका छन् भने वैद्यले पनि क्रान्तिको नेतृत्व गर्न नसकेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ अलग्गिइसकेका छन् ।

यसै सन्दर्भमा मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकरी माओवादी) ले २३ औ जनयुद्ध दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा मनाउने निर्णय गरेको छ ।

सो पार्टीका महासचिव मोहन बैद्यले सोमबार जनयुद्ध दिवसका अवसरमा जारी गरेको प्रेश वक्तव्यमा दश वर्षसम्म सञ्चालित जनयुद्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुगेपनि पार्टीको मूल नेतृत्वले गम्भीर धोका दिएकाले जनयुद्धले गम्भीर धक्का खान पुगेको बताएका छन् ।

मोहन बैद्यले दश वर्षको जनयुद्धका बिचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्वहाली गरी संविधान बनाएको आरोप लगाएका छन् । उनले स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावलाई नौटङ्कीको संज्ञा दिदै संसदवादी दलहरुले संविधान कार्यान्वयनको झ्याली पिंटेको आरोप लगाएका छन् ।

यस्तो छ प्रेस वक्तव्यको पूर्णपाठ

हामी तेइसौं जनयुद्ध दिवस मनाउँदै छौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा तेइस वर्षअघि २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । सो जनयुद्ध नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवाद हुँदै साम्यवादमा जाने उद्देश्यमा आधारित थियो । दश वर्षसम्म सञ्चालित जनयुद्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुग्दै थियो । परन्तु, पार्टीको मूल नेतृत्वबाटै गम्भीर धोका दिइनुको कारण त्यसप्रकारको जनयुद्धले गम्भीर धक्का खान पुग्यो ।

महान् जनयुद्धको प्रक्रियामा हजारौं वीर योद्धाहरुले सहादत प्राप्त गरे । कैयौं राज्यद्वारा बेपत्ता पारिए । कैयौं घाइते तथा अपाङ्ग बनाइए । तेइसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी जनयुद्धका महान् अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । बेपत्ता योद्धाहरुको स–सम्मान संस्मरण गर्दछौं । साथै, जनयुद्धमा घाइते अपाङ्ग बनेका सम्पूर्ण योद्धाहरुप्रति पनि हामी सम्मान जाहेर गर्दछौं । साथै, हामी वीर सहिद तथा बेपत्ता योद्धाहरुका परिवारजनहरुप्रति पनि सम्मान प्रकट गर्दछौं । यसैगरी हामी पार्टीका सम्पूर्ण कमरेडहरु, क्रान्तिका शुभचिन्तक, परिवर्तनकामी जनसमुदाय र अन्तर्राष्ट्रिय क्षेत्रका मित्र, भाइचारा पार्टी तथा विश्वसर्वहारावर्गप्रति पनि हार्दिक शुभकामना तथा अभिवादन व्यक्त गर्दछौं ।

दश वर्षको जनयुद्धका बिचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्वहाली गरी संविधान बनाइयो । देश र जनताका मुक्ति र स्वतन्त्रताका सपना साकार हुन सकेनन् । यस वर्ष स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावी नौटङ्की पूरा गरी संसदवादी संविधान कार्यान्वयनको झ्याली पिंटिदै छ । वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र बन्दै गएको छ । यस जटिल स्थितिमा हामी माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिंदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेका छौं । यसै उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै तेइसौं जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हो । फेरि पनि हार्दिक शुभकामना ! क्रान्तिकारी अभिवादन !! लाल सलाम !!!
मिति : २०७४ फागुन १
…………..
किरण
महासचिव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =