कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उद्घाटन

माघ २९, जुम्ला । प्रधानमन्त्री शेरबहादुरले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुदुरपश्चिमका जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गर्ने बताएका छन् । आईतबार जुम्लास्थित प्रतिष्ठानको नवनिर्मित ३ सय वेडको भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिष्ठान प्रदेश नं. ६ को गौरब समेत भएको उल्लेख गर्दै भने–‘प्रतिष्ठानले ६ नं. प्रदेशका जनतालाई मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिनेछ भन्ने विस्वास छ ।’ प्रतिष्ठानका कूलपति समेत रहेका देउवाले प्रतिष्ठानमा एमविविएस अध्यापन शुरु गर्न सहयोग गर्ने भन्दै त्यसका लागि ब्यवस्थापन पक्षलाई गुरुयोजना बनाएर अघि बढ्न सुझाए ।

उनले त्यसका लागि सरकारले दक्ष जनशक्ति उत्पादन र सेवा विस्तारमा बजेट विनियोजन गर्ने जनाए । ‘कर्णालीका जनतालाई मेडिकल शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा पहुँच पुर्याउन सरकार प्रतिबद्ध छ, निकट भविश्यमै मेडिकल शिक्षा सञ्चालन गर्न गुरुयोजना बनाउनुस् सरकारले सहयोग गर्नेछ ।’ उनले भने ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानका सहकूलपति तथा स्वास्थ्य मन्त्री दीपक बोहराले कर्णाली जिल्लाका जनतामा देखिएको स्वास्थ्य सुधार गर्न विशेष सहयोग गर्ने बताए । उनले प्रतिष्ठानहरु चलाउन सरकारले मात्र पहल गरेर नहुने भन्दै स्थानीय जनता र ब्यवस्थापन पक्षले भूमिका खेल्नुपर्ने औल्याए । ‘सरकार जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छ, सरकारको योजना र कार्यक्रमलाई सफल बनाउन जनता, कर्मचारी र चिकित्सकको पनि उत्तिकै भूमिका रहन्छ ।’ उनले भने ।

कार्यक्रममा स्वास्थ्यमन्त्री बोहराले प्रतिष्ठानमा मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका सेवा समेत थप गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशीले प्रतिष्ठानमा एमविविएस कार्यक्रम सञ्चालन गर्न तयारी भईरहेको भन्दै त्यसका लागि ५ वर्षिय गुरु योजना बनाएर जाने बताए ।

प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले प्रतिष्ठान सञ्चालनमा सबैको सहयोगको आवश्यकता रहेको औंल्याउँदै सरकारको नीति तथा कार्यक्रमलाई स्थानीय जनतासँग पुर्याउन प्रतिष्ठानले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे । कर्णालीमा प्रतिष्ठान स्थापना भएर सुदुरपश्चिमका जनताको स्वास्थ्यमा समेत सुधार ल्याउने दावि गरे ।

अस्पताल निर्देशक धर्मराज गोसाईले प्रतिष्ठानले हाल दिईरहेको स्वास्थ्य सेवाका बारेमा जानकारी गराउँदै प्रतिष्ठानले हाल २५ विशेषज्ञ र १४ एमबिबिएस डाक्टरले सेवा प्रदान गरिरहेको जानकारी गराए । उनले प्रतिष्ठानले ६ प्रदेश नम्बर का १० जिल्ला र प्रदेश नम्बर ७ का तीन जिल्लामा स्वास्थ्य सेवा विस्तार गरिएको बताए ।

प्रतिष्ठान पहल समितिका संयोजक तथा प्रदेश नं. ६ का सांसद नरेश भण्डारीले कर्णाली क्षेत्रको मातृशिशु मृत्युदर शुन्यमा झार्न तथा औषत आयु घटाउन प्रतिष्ठानले टेवा दिने बताए । जुम्ला स्थित चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानका रजिष्ट्रार इ. विश्वराज काफ्लेले प्रतिष्ठानले ६ नं. प्रदेशमा रहेका पहाडी जिल्लाहरुका साथै ७ नंं प्रदेशका जिल्लाहरुलाई समेत स्वास्थ्य सेवा दिईरहेको बताउँदै आगामी दिनमा थप सेवा विस्तार गर्ने बताए ।

प्रधानमन्त्री देउवाले शिक्षण अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेका थिए । अस्पताल उद्घाटनका क्रममा जुम्ला पुगेका देउवाले पुरानो अस्पतालमा भर्ना भएका बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरणगरेका थिए । उनले अस्पतालले सञ्चालन गरिरहेको एक सय वेड अस्पतालको निरीक्षणसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =