घाइतेहरु सडकमा तड्पी रहे, सशस्त्र प्रहरी रमिते बनिरह्यो

“
नवलपरासी, माघ २९ । नवलपरासीको झुलनिपुर– त्रिवेणी सडक खण्डको बैदौलीमा मोटरसाईकल दुर्घटना हुँदा तीनजना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिकाको वडा नं. ५ बैदौली स्थित मुख्य पश्चिम गण्डक नहरको बाटोमा आइतबार साँझ करिब साढे छ बजेको समयमा बिपरित दिशाबाट आएका दुइ भारतीय प्लेट नम्बर भएका मोटरसाइकल एक आपसमा ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्लाको सुस्ता गाउँ पालिका वडा नम्बर २ महलबारीमा सञ्चालन भएको मदारबाबा मेलाबाट फर्किने क्रममा युपी ५६ एच ५६२१ नम्बरको मोटरसाईकल र अर्को विपरित दिशाबाट आउदै गरेको युपी ५६ एस ५२६० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको स्थानीयले बताए ।
दुर्घटनामा दुबै मोटरसाइकलका चालक र पछाडी बसेकी एक बृद्ध महिला घाईते भएकी हुन् । घाईते तीनजना मध्ये गम्भीर अवस्थामा रहेका भारत महराजगंज जिल्ला झुलनीपुर घर भएका गृजेश कुर्मीको टाउकोमा गम्भीर चोट लागेको छ । कुर्मीको अवस्था गम्भीर रहेको छ भने अर्को घाइते भएका चालक भारत महाराजगन्ज जिल्ला बेलवा का भिमल यादवको दाहिने खुट्टा फ्याक्चर भएको छ ।
तिनै जना घाइते एक घण्टा भन्दा बढि समय सम्म बाटोमा छटपटाउदै तडपी रहे तर दुई सय मिटर टाढा मात्र रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झुलनिपुरका प्रहरीहरु रमिते बनेर बसेका थिए । सशस्त्र प्रहरीसँग गाडी पनि छ, तर घाइतेहरुलाई अस्पतालसम्म पुर्याउन तयार नभएपछि स्थानीयबासी सशस्त्र प्रहरी माथि आक्रोशित भएका छन् ।
निकै बेरपछि गुठी परसौनी प्रहरी चौकीका असई घनश्याम रिमाल घटनास्थलमा आएपछि मात्र एम्बुलेन्स बोलाएर घाइते सबैलाइ उपचारका लागि चौपत्ता स्थित सहिद स्मृति सामुदायिक अस्पताल पठाइएको स्थानीय मोमिन अन्सारीले जानकारी दिए ।
“








