रसियामा ७१ यात्रु बोकेको विमान दुर्घटना, सबै मारिएको आशंका

“काठमाडौं, माघ २९ । आइतबार मस्कोको दमदजियदवा विमानस्थलबाट उडान भरेको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । जसमा ६ जना क्रु मेम्बरसहित ६५ जना यात्रुको ज्यान गएको बीबीसीले जनाएको छ ।
सारातोफ एयरलाइन्सको त्यो विमान उडान भरेको केही मिनेटमै हराएको थियो । रुसी अधिकारीहरुका अनुसार विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको अरगुनोवो नजिकै दुर्घटनाग्रस्त भएको छ । रुसी सञ्चार माध्यमहरुका अनुसार विमान सवार सबैको ज्यान गएको बताइएको छ ।
एन्टोनफ एन – १४८ विमान कजाकिस्तनको सीमा नजिकै रहेको उराल्सको ओरस्क गैरहेको थियो । स्थानीय समय अनुसार दिउँसो विमान दुर्घटनामा परेको हो । दुर्घटाना के कारण भयो भन्ने अझै खुलेको छैन् । विमान दुर्घटना भएको ठाउँमा हिमपात भएका कारण अनुसन्धानकर्ता र उद्दारकर्ताले त्यहाँ काम गर्न असजिलो भएको जनाइएको छ ।
अधिकारीहरुले शव क्षतविक्षत अवस्थामा धेरै स्थानमा छरिएको जनाएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटीनले मृतक परिवारमा समवेदना प्रकट गरेका छन् । उनले घटनाबारे अनुसन्धान गर्ने जनाएका छन् ।
हवाई सेवाका बारेमा ट्रयाक गर्ने वेबसाइट फ्लाइटराइडर २४ले ट्वीट गर्दै भनेको छ कि उडान भरेको पाँच मिनेटपछि विमान एक हजार मिटर प्रतिमिनेटको गतिले जमिनतर्फ आइरहेको थियो । हिउँले ढाकिएको मैदानमा दुर्घटनाग्रस्त विमानका अवशेषहरु देखिएको छ ।
सन् २०१७ लाई हवाई यात्राको सबैभन्दा सुरक्षित वर्ष मानिएको थियो । एक वर्षको अवधिमा पहिलो पटक कमर्सियल प्यासेन्जर जेट दुर्घटनाग्रस्त भएको हो ।
विमानमा एक बच्चा र दुई किशोरावस्थाका यात्रु रहेको बीबीसीले जनाएको छ ।”








