बिकास र समृद्धिको पहिलो खुड्कीलो शान्ति सुरक्षाः प्रहरी महानिरीक्षक अर्याल

पोखरा २८ माघ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिकास र समृद्धिको पहिलो खुड्कीलो नै शान्तिसुरक्षा र अमनचयन भएको बताएका छन् । मुलुक संघीयतामा गएको बताउँदै त्यस अनुरुपको शान्ति सुरक्षालाई शसक्त तथा प्रभावकारी बनाउन अपरिहार्य रहेको बताए ।

उनले भौतिक सेवा सुविधाको अभाव भएपनि प्रहरीले नागरिकलाई प्रवाह गर्ने सेवामा कमि नहुने बताउँदै पुर्वाधारको बिकासले प्रहरीलाई थप रचनात्मक कार्यगर्न अभिप्रेरित गर्ने बताए ।

प्रहरी दुःख र समस्यामा सम्झिने निकाय भएकाले आशा र भरोसा रहने भन्दै प्रभावकारी सेवा प्रवाहकालागि मातहतका निकायलाई उनले निर्देशनसमेत दिएका छन् । काठमाडौं र ईटहरीमा भएका बलात्कारका घटनाप्रति लक्षीत गर्दै अर्यालले महिलाको अस्मिता लुटिएको विषय कहिल्यै पनि मिलापत्र नहुने बताए ।

‘प्रहरी नेपाली जनताको आस्थाको धरोहर हो, नागरिक अधिकार र कानुनको हत्या गर्ने बधशाला होइन । नागरिक अधिकार र मानव अधिकारको प्रहरीले पूर्ण सम्मान गर्छ ।’ चार नम्बर प्रदेश प्रहरीको नवनिर्मित भवनको उद्घाटन गर्दै अर्यालले भने ।

प्रदेश नम्वर ४ का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले संघीयताको मर्म र भावना अनुरुप जनताको घरआँगनमा शान्ति सुरक्षाको महशुस हुनेगरी प्रहरीलाई अभिप्रेरित गर्ने बताए ।

नव निर्मित भवन ४ करोड ४७ लाख ६२ हजार ९८ रुपैया पैसा ४५ मा निर्माण सम्पन्न भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक पुष्पचन्द्र रञ्जितले बताए । भवन निर्माणको लागि सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा व्यवस्था भए बमोजिमका प्रक्रियाहरु अबलम्वनगरी बनाएको उनले बताए ।

भवन निर्माकोलागि खानी निर्माण सेवा, काठमाण्डौ र तत्कालिन क्षेत्रीय प्रहरी कार्यालय पोखरा बीच ०७२ फागुन १४ मा सम्झौता भएको थियो । भवन करिब दुई वर्षको अवधिमा सम्पन्न भएको हो ।

तीन तले भवन अपांगमैत्री, भुकम्प प्रतिरोधात्मक प्रविधिमा निर्माण गरिएको छ । भवनमा जम्मा ३० वटा कोठाहरु रहेका छन । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र पोखरा लेखनाथ महानगर प्रमुख मान बहादुर जिसीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =