टक्स माउण्टेन बाईकको आयोजनामा साईकल प्रतियोगिता सम्पन्न

“
धरान, माघ २८ । साइकल यातायातको साधन मात्र नभई विश्वमा साहसिक खेलको रुपमा समेत परिचित छ । वातावरणको संरक्षण र स्वास्थ्यका लागि समेत साइकल चलाउन उपयुक्त मानिन्छ । साइकल चलाउनुको महत्वबारे जनचेताना जगाउने उद्धेश्यले सुसनरीको धरानमा धरान क्रसकन्ट्री साइकल प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिता शनिबार बिहान ९ बजे धरान १४ स्थित बिजयपुर उच्च माविको खेल मैदानबाट शुरु भई झोलुङगे पुल, सेउती खोला तरेर बसन्तटार, निराजन बस्ती, पुरानो बजार सिंहदेवी, बुढासुब्बा मन्दिरको दक्षिण तर्फबाट पुनः बिद्यालयको खेल मैदान पुगि सम्पन्न भएको आयोजक टक्स माउण्टेन वाईकका प्रमुख कृष्ण केसीले जानकारी दिएका छन् ।
केसीले वातावरण संरक्षणका लागि साईकल चढ्ने अभियानलाई जोड दिईनुका साथै जलवायु परिवर्तनका कारण नेपाल लगायत पर्वतीय मुलुकहरुले ठुलो पीडा व्यहोरिरहेको बताउँदै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित देशहरुलाई सचेत गराउनका लागि पनि यस्ता प्रकारका प्रतियोगिता हुनु र गर्नु जरुरी रहेको बताए ।
नेपालको कुना कन्दरामा पुगेर प्राकृतिक सुन्दरताको अवलोकन गर्न साईकल एउटा निर्विकल्प माध्यय बन्दै गएको समेत केसीले प्रतियोगिता समापन समारोहमा बताए ।
नेपाल प्राविधि संघको प्राविधिक सहकार्यमा सम्पन्न भएको प्रतियोगितामा १२ बर्षदेखी ६० बर्ष मुनिका करिब ४० जना वाइकर्सहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम अभिषेक राईलाई नगद ८ हजार बराबरको सपिङ भौचर मेडल तथा प्रमाणपत्र, दोश्रो दिपक जिमीलाई ६ हजार बराबरको सपिङ भौचर मेडल तथा प्रमाणपत्र, र तेश्रो निर्दल केरुङलाई ४ हजार बराबरको सपिङ भौचर मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगीताको उद्घाटन विश्व साईकलयात्री पुस्कर शाहले गरेका थिए ।
“








