प्रदेश नं. ६ को आवश्यकता व्यवहारिक शिक्षा

साधन श्रोतले भरिपूर्ण तर व्याबहारिक शिक्षाको अभावमा रुमलिएको यस प्रशेसको मुख्य बिकासको मेरुदण्ड भनेको नै शिक्षा हो । प्रदेश सरकार गठन हुनै लाग्दा यस प्रदेशको मुहार फेर्न तीव्र चाहाना बोकेका प्रदेशका निर्वाचित सांसद हरुको ध्यान जसरी वाटो पुल बिजुलीमा गई रहेको छ त्यसरि ब्याबहारीक शिक्षामा जानेछ भन्नेमा हामीलाई बिस्वास छ । विश्वका बिकसित देशहरुलाई हेर्दा पनि शिक्षामा कुल बजेटको २०र प्रतिशत लगानी गरेको पाईन्छ त्यसकारण हाम्रो यस प्रदेशको कुल बजेटको २० प्रतिशत छुट्याई शिक्षामा लगानी बढाउनु पर्ने देखिन्छ । हामीले शिक्षालाई काम संग जोड्नु पर्दछ अन्यथा अहिलेका विश्वविधालय जस्तो बेरोजगार उत्पादन गर्न कारखाना जस्तै बन पुग्ने देखिन्छ ।

अहिलेको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक तथा सीपमूलक शिक्षामा ध्यान दिनु हो । अहिलेको अवस्थामा व्यावहारिक, व्यावसायिक तथा सीपमूलक शिक्षा आर्जन गर्नमा विद्यार्थी उत्साहित देखिएका छन् । यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ । हाल विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुँदा प्राविधिक कलेज खुल्ने क्रम पनि जारी छ । विशेष गरी विद्यार्थीको भविष्य निर्माणको आधार मानिने एसएलसी । पास गरेपछि व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्ने बाटो तय गर्छन् । एसएलसीपछि भविष्यमा के गर्ने, के गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा अभिभावक चिन्तित हुन्छन् । त्यसैगरी विद्यार्थीहरुमा पनि विभिन्न इच्छा,आकांक्षा हुन्छन् । फलस्वरुप उनीहरुले भविष्यको बाटो तय गर्दछन् । एसएलसीको रिजल्टपछि आमअभिभावकमा आफ्ना छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि कुन विषय पढाउँदा उपयुक्त हुने र कुन विषय पढ्न छोराछोरी इच्छुक हुन्छन् त्यहीअनुसार अध्यापन गराउनु आवश्यक छ ।

कुनै अवस्थामा विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कोतिर हुन सक्छ र विद्यार्थीले आफ्नो इच्छाअनुसार अध्ययन गर्न नपाउँदा नकारात्मक असर पर्नसक्छ । विशेष गरी आमअभिभावकको इच्छा आफ्ना छोराछोरीलाई डाक्टर, इञ्जिनियर, पाइलट तथा प्राविधिक विषय पढाउने हुन्छ । त्यस्तै अहिलेको अवस्थामा राम्रो अंक ल्याउने विद्यार्थीहरुको अभिभावकले विज्ञान संकायतर्फ भर्ना गरेका हुन्छन् । समाजमा एउटा यस्तो भ्रम छ, जहॉ विद्यार्थीले राम्रो अंक पायो भने विज्ञान संकाय नै अध्ययन गर्नुपर्छ । त्यसैले अभिभावकले आफ्ना छोरा छोरीलाई यसतर्फ नै दबाब दिएका हुन्छन् । तर आफ्नो इच्छाअनुसारको विषय अध्ययन गर्नुपर्छ । अहिलेको अवस्थामा प्राविधिक शिक्षातर्फ नै ध्यान केन्द्रित गर्नुपर्छ ।

अन्धकारमय जीवनमा सुनौलो बिहानीको सिर्जना गर्दै ज्ञानको ज्योति दिएर शिक्षा देखापरेको छ । शिक्षा भनेको थाहा पाउनु हो । यसले ज्ञान दिन्छ । यस प्रकारको मूल्यवान वस्तुको उपयोग प्रणाली र यसको प्रभावकारितालाई ध्यानमा राखी यसको उपयोग गर्ने विषय मुख्य चुनौती हो । प्राविधिक शिक्षातर्फ ध्यान केन्द्रित हुँदै जॉदा शिक्षालाई श्रमसँग गॉसेर हेर्न आवश्यक छ । जसले गर्दा शिक्षा सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सकोस् । यस्तो शिक्षा प्रणाली नेपालको लागि आवश्यक छ । तर हाम्रो मुलुकमा दोषपूर्ण जस्तै मानिएको छ । जसले गर्दा शिक्षाको लक्षलाई लज्जित बनाएको छ । नेपालमा शिक्षा प्रणालीको उचित कार्यान्वयन हुन नसक्दा शिक्षाले श्रमलाई अपहेलना गरेको छ ।

हाल युवाहरुमा देखिएको बेरोजगारीलाई त्यसको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ । अर्कोतर्फ यसले नक्कली विद्यार्थीहरु उत्पादन गर्दछ । देश विकासको मुख्य आधार भनेको देशको शिक्षा प्रणालीलाइ लिन सकिन्छ । शिक्षाले भोक लगाउँछ तर भोक मेटाउँदैन शिक्षार्थीको शारीरिक र मानसिक क्षमतालाई पनि प्रभाव पार्न सक्दैन । त्यसैले देशको शिक्षा प्रणाली तथा यसको कार्यान्वयन पक्ष खेल जस्तो हुनुपर्छ । शिक्षार्थी खेलाडी जस्तो हुनुपर्छ । जसमा प्रशस्त अभ्यास जोडिएको हुन्छ । हुन त शिक्षाको विकास तीब्र गतिमा भइरहेको छ र अनेक चरणहरु पनि पार गर्दैछ । यद्यपि कामयावी शिक्षाले समाजलाई उँभोतर्फ डोर्याउँछ ।

अहिलेको पुस्ता कम्प्युटर शिक्षातर्फ पनि आकर्षित छ । विश्वसँग प्रतिष्पर्धा गर्न पनि कम्प्युटर शिक्षालाई प्राविधिक शिक्षाको रुपमा लिन सकिन्छ । अहिलेको शिक्षा प्रणालीअनुसार प्राविधिक विषय पढाउने कुरा कम चुनौतीपूर्ण छैन । शिक्षामा व्यापारीकरणले गर्दा महंगो र ठूलो स्कूलमा आफ्ना विद्यार्थीलाई भर्ना गर्नेतर्फ अभिभावक लागेका हुन्छन् । तर दुर्गम र न्यून आय भएका अभिभावकहरुले भने आफ्ना छोराछोरीले राम्रो अंक प्राप्त गरेपछि कसरी पढाउने भन्ने कुरामा चिन्तित हुन्छन् । किनकि उनीहरुका लागि निजी र महंगा कलेजहरुमा पढाउने हैसियत पुग्दैन । जसले गर्दा देशमा राम्रो प्रतिभा हुँदाहुँदै पनि त्यो प्रतिभा खेर गइरहेको छ । यसतर्फ राज्यले ध्यान दिनु उसको उत्तरदायित्व होइन ?

गरिवी तथा कमजोर आर्थिक अवस्थाका कारण राम्रो अंक प्राप्त गर्ने मेधावी विद्यार्थीहरु पनि विशेष गरी दुर्गम इलाका र ग्रामीण इलाकाका सामान्य विषय अध्ययन गर्दै गाउँमै थन्किन बाध्य छन् । राम्रो विषय पढेर राम्रो मान्छे बन्ने सपना अपुरो भएको छ । शिक्षानीतिको कार्यान्वयन ठीक नहुँदा तथा शिक्षामा सबै वर्गको समान पहुँच नभएको कारण नेपालमा शिक्षानीति हुनेखाने वर्गकै हितमा छ ।

केही समय अगाडि एमविविएस प्रवेशका लागि हुने परीक्षामा भएको आर्थिक अनियमिततालाई उदाहरणको रुपमा लिन सकिन्छ । जसले गर्दा शैक्षिक विकासको लागि अवरोध सिर्जना भएको छ । अनुसन्धानात्मक विषय र विज्ञानसम्बन्धी विषय पढाइ महंगो र स्रोत साधनको अभावमा सबैको पहुँचमा राम्रो विषय पढ्ने अवसरको कमी रहने गरेको छ । त्यसैले नेपालमा प्राविधिक जनशक्तिको कमी छ र उत्पादन पनि कम भएको छ । जसले गर्दा देशले आर्थिकरुपमा फड्को मार्न सकेको छैन । हाल नेपालमा कैयौं उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु बेरोजगार बस्न बाध्य छन् । बेरोजगारी र अवसरको कमीले उच्च शिक्षा हासिल गरेका राम्रा विद्यार्थीहरु विदेश पलायन हुने क्रम पनि बढ्दो छ । विदेश गएर अवसर पाउनेहरुमा उच्च शिक्षामा राम्रो अंक प्राप्त गर्नेहरु नै रहेका छन । यस्तो अवस्थाबाट उच्च शिक्षा हासिल गर्ने व्यक्ति विदेशी भूमिमा नै हराउने गर्दछन् । यस्तो समस्या समाधान गर्नु वैज्ञानिक तथा व्यावहारिक शिक्षानीति अवलम्बन गर्न नितान्त आवश्यक छ ।

मुलुकको समग्र आर्थिक, राजनीतिक, शैक्षिक, प्राविधिकलगायतका विभिन्न विषयमा ज्ञान आर्जन गरेका व्यक्तिहरुलाई उचित अवसर दिएमा शिक्षा उत्पादनमुखी हुन सक्छ । जसले मुलुक रुपान्तरणको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

देश विकासको लागि उपयोगी भनेको प्राविधिक, व्यावहारिक तथा व्यावसायिक शिक्षा हो । त्यसैले राज्यले सम्पूर्ण जनताको पहुँचमा पुग्ने गरी प्राविधिक शिक्षाको विकासमा जोड दिनु आवश्यक छ । जसले गर्दा विद्यमान बेरोजगारी समस्याको समाधान हुन सकोस् र राज्यले पनि आर्थिक लगायतका क्षेत्रमा तीब्र रुपमा विकासमा फड्को मार्न सकोस् । त्यसको एकमात्र उपाय भनेको प्राविधिक शिक्षामा ध्यान दिनु हो । त्यसैले अहिले प्रदेश विकासको मुख्यआधार भनेको व्यावहारिक आत्मनिर्भरउन्मुख शिक्षा आजको आवश्यकता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =