एमाले–माओवादी एकतामा शंकैशंका, आज निर्णायक बैठक

“काठमाडौं, माघ २५ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक केहीबेरमा बस्दै छ । आज बस्ने समितिको बैठकलाई निर्णायक बनाइने नेताहरुले बताएका छन् ।
पछिल्लो समय एकता प्रयास भंग हुने स्थितिमा पुगेकाले आजको बैठकलाई निर्णायक छलफलका रुपमा लिइएको छ । अन्तिम प्रयास स्वरुप आज पार्टी एकता संयोजन समितिको बैठक बसेर छलफल हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नीजि सचिवालय स्रोतले जनाएको छ ।
अब एमालेसँग पार्टी एकता हुन नसक्ने निष्कर्षमा कतिपय माओवादी नेताहरु पुगेका बताइएको छ । सैद्धान्तिक कुरा पनि छोड्नु पर्ने र पार्टी अध्यक्ष पनि दिन नसकिने कुरा एमालेबाट आएकोले एकता हुने सम्भावना लगभग सकिएको माओवादी नेताहरुले बताएका छन् ।
यद्धपि एमालेका नेताहरुले भने अध्यक्षद्वय पार्टी एकताको प्रयासमै रहेकाले सम्भावना बलियो रहेको बताउँछन् ।
माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धन फुटाउन वाह्य शक्तिले चलखेल गरेको आरोप लगाउँदै आएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि माओवादी नेताहरु बढी सशंकित देखिएका छन् । स्वराजले माओवादी बाहेक केपी ओली नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राखेको सञ्चारमाध्यमहरुमा आएको थियो । स्वराजको भ्रमणलाई माओवादीले राजनैतिक र कुटनीतिक रुपमा समेत अनुपयुक्त भएको माओवादी नेताहरुले बताउँदै आएका छन् ।
एमाले र माओवादीबीचको पार्टी एकता पदीय भागबण्डामा अल्झेर धरापमा परेको छ । माओवादी अध्यक्ष प्रचण्डलाई अध्यक्ष दिन नसकिने केपी ओलीको अडानका कारण पार्टी एकता भंग हुने अवस्थामा पुगेको माओवादी नेताहरुको आरोप छ ।
प्रचण्डलाई विश्वास गरेर पार्टीको नेतृत्व सुम्पन एमालेका नेताहरुलाई सकस भइरहेको देखिन्छ भने माओवादी पार्टी अध्यक्ष नपाए एकता नै नगर्ने अडानमा छ ।”








