बलात्कार घटनालाई ‘लेनदेन’मा मिलाउने एसपी माझी निलम्बनमा

“
काठमाडौं, माघ २५ । बलात्कार घटनालाई मिलापत्र गराएको आरोपमा सुनसरीका एसपी र इन्सपेक्टरलाई निलम्बन प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले सुनसरीका एसपी बिद्यानन्द माझी र इन्सपेक्टर चिरञ्जिवी दाहाललाई निलम्बनका लागि मंगलबार गृह मन्त्रालयमा पत्राचार गरेको हो ।
गत पुस १६ गते इटहरीमा भएको एक बलात्कार घटनामा इप्रका इटहरीले जाहेरी नलिई मिलापत्र गराएको थियो । इप्रकामा इन्पेक्टर दाहालले एसपी माझीको आदेशमा मिलापत्र गराएका थिए । त्यसवापत लाखौं रकमको चलखेल भएको छानबिनमा खुलेपछि अनुसन्धान थालिएको थियो । छानबिनका क्रममा एसपी र इन्सपेक्टरले गम्भीर मुद्दामा नियतबश मिलापत्र गरेको खुलेपछि निलम्बन गर्न सिफारीस गरिएको प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानले बताए ।
उनका अनुसार सई भीमबहादुर खत्रीमाथि पनि छानविन सुरु गरिएको छ ।
१६ पुसमा सन् २०१८ (नयाँ वर्ष) मनाउन इटहरीको रोयल रिसोर्ट होटलमा गएकी कक्षा १० मा अध्ययनरत १४ वर्षीया बालिका बलात्कृत भएपछि उनले धरानका जुकल लिम्बु र बिराटनगरका मनिष श्रेष्ठले बलात्कार गरेको बयान दिएकी थिइन् । जुकल लिम्बु पक्राउ परेपनि श्रेष्ठ अझै फरार छन् ।
प्रहरी प्रवक्ता न्यौपानेले छानबिनमा रहेका उनीहरुलाई आवश्यक सोधपुछ र वयान लिनुपर्ने भएपछि निलम्बनको लागि सिफारिस गरिएको जानकारी दिए । घटना छानबिनका लागि संघीय प्रहरी ईकाई प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । समितिले अनुसन्धानका क्रममा एसपी माझी, इन्सपेक्टर दाहाललाई सोधपुछ गर्नुपर्ने र वयान लिनुपर्ने भएपछि उनीहरुलाई लिनम्बन गर्न प्रहरी मुख्यालयले गृह मन्त्रालयमा पत्र पठाएको हो ।
बालिका बलात्कारको घटनामा मुद्दा दर्ता नगरी आर्थिक लेनदेनमा मिलापत्र गराएको घटना सार्वजनिक भएपछि एसएसपी पालको नेतृत्वमा छानविन समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउनेछ । प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले पालको नेतृत्वमा छानविन समिति बनाएका थिए । ती बालिकालाई इटहरीको रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै पीडितका परिवारले मुद्धा दर्ता गर्न खोजेका थिए । तर मुद्धा दर्ता नभइ मिलापत्र गर्न दबाब दिइएको थियो ।
एसपी माझी यसअघि पनि विभिन्न काण्डमा विवादित बनेका ब्यक्ति हुन् । गत प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस उम्मेदवार विजय गच्छदारलाई जिताउन खुला रुपमै लागेको उनीमाथि आरोप छ । गच्छदार निर्वाचित भएको सुनसरी क्षेत्र नं ३ को निर्वाचन परिणाम अझै पनि विवादित छ । सो मुद्दा सर्वोच्चमा विचाराधिन छ ।
पूर्वका लागु औषध कारोबारीहरुसँग समेत एसपी माझीको सम्बन्ध रहको र उनले आर्थिक लेनदेनमा लागु औषध कारोबारलाई बढावा दिएको स्थानीयको दाबी छ ।
“








