प्रदेश ४ को राष्ट्रिय सभा निर्वाचनको मतदान जारी

“
पोखरा, माघ २४ । प्रदेश नम्वर ४ अन्तर्रगतको राष्ट्रिय सभा निर्वाचनको मतदान पोखरामा चलिरहेको छ । प्रदेश नम्वर ४ को मतदान पार्दीस्थित लोकसेवा आयोगको कार्यलयमा भइरहेको छ ।
प्रदेश नम्बर ४ बाट निर्वाचित हुने ८ सदस्य मध्ये एक जना निर्विरोध भैसकेका छन् भने ७ जनाको लागि मतदान भैरहेको छ ।
प्रदेश ४ मा अपांग(अल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्विरोध निर्वाचित भैसकेका छन् । अन्य ७ मध्ये तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसबाट विन्दादेवी आले (राना), एमालेबाट दीपा गुरुङ र शान्तिदेवी अधिकारी (जिसी) तथा राष्ट्रिय जनमोर्चाबाट मीना पुन उम्मेदवार बनेका छन् ।
अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, एमालेबाट गणेशप्रसाद तिमल्सिना, माओवादीबाट दीनानाथ शर्मा र राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी प्रतिस्पर्धामा छन् । एक दलित सदस्यका लागि कांग्रेसबाट जितबहादुर नेपाली र एमालेबाट खिमबहादुर विकबीच प्रतिस्पर्धा हुँदै छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहेका क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।
निर्वाचन बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगको कार्यलयले जनाएको छ ।
ठूला दलहरु मध्येबाट निर्वाचनमा काँग्रस, एमाले, माओवादी केन्द्र र जनमोर्चाको तर्फबाट उमेदवारी परेको छ । मतदान सकिएपछि तत्कालै मतगणना शुरु गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
“








