सरकार भन्छ ‘माओवादीको उल्टो दिन गन्ती शुरू भयाे’

“माघ २३, काठमाडाैं । भारतको छत्तीसगढ बस्तरमा माओवादी प्रभावित क्षेत्रमा पछिल्ला दिनहरूमा हिंसाका घटना बढेपछि मानिसहरूमा तनाव बढेको छ। तीन दिनदेखिको हिंसाका क्रममा गाडीहरू जलाइएको, ट्रेनका मालवाहक डिब्बाहरूलाई लिकबाट झारिएको र हत्याका घटनाहरू प्रकाशमा आएका छन्।
सोमवार माओवादीले दण्डकारण्यमा गरेको बन्दको प्रभाव भित्री क्षेत्रमा देखियो। हत्याका घटनाले आम मानिसमा त्रास फैलिएको छ । बस्तर, बीजापुर, सुकमा, दन्तेवाडा, नारायणपुर लगायत जिल्लाका सदरमुकामहरूमा बाहेक अन्यत्र यातायात सेवा ठप्प रह्यो। कयौँ राजमार्गमा गाडीहरू पूर्ण रूपमा चलेनन्। भने, यहाँका रेलमार्गमा ट्रेनको आवाज सुनिएन।
कतै माओवादीहरूले सडकहरू भत्काइदिएका थिए भने कतै सडकमा रूखहरू ढालिदिएका थिए। नारायणपुर–ओरछा मार्गमा माओवादीहरूले सडक निर्माणमा प्रयोग गरिएका केही गाडीहरू जलाइदिएका छन्। सरकारी अधिकारीहरू भन्छन्, ‘एकातर्फ माओवादीहरूले विकासका कुरा गर्छन् भने अर्कोतर्फ विकासका गतिविधि रोक्छन्।’
पछिल्ला दिनहरूमा भएका सबै घटनाका लागि माओवादी जिम्मेवार रहेको बताउँदै दन्तेवाडाका आइजी सुन्दरराज पीले भने,–‘थोरै सुरक्षाकर्मीहरू भएका ठाउँहरूमा माओवादीले पछिल्ला आक्रमणहरू गरेको देखिन्छ। यसले माओवादी बलियो नभइ कमजोर भएको देखाउँछ।’ बीजापुरमा सन्दिग्ध माओवादीहरूले शनिवार एक दर्जनभन्दा बढी ट्रक र ट्र्याक्टर लगायतका सवारीसाधनमा आगो लगाएका थिए।
बीजापुरकै तोयनारमा बिदा सकेर कार्यालय फर्किरहेका एक कर्मचारी सीताराम बाकडेको माओवादीहरूले अपहरण गरेका छन्। अपहरित बाकडेको आइतवार उनीहरूले हत्या गरेका छन् । दन्तेवाडाको गाटममा सन्दिग्ध माओवादीहरूले एकजना गाउँलेको समेत हत्या गरेपछि स्थानीयहरुमा सन्त्रास फैलिएको छ ।
माओवादीको एउटा ठूलो समूहले न्याशनल मिनरल डेभलपमेन्ट कर्पोरेशनको एउटा खानीमा आगजनी गरेर त्यहाँका कर्मचारीलाई बन्धक बनाएका छन्। बीजापुरमा जन्तीहरू सवार एउटा बससहित तीनवटा बसमा माओवादीहरूले आगजनी गरेका छन्।
आइतवार साँझ सन्दिग्ध माओवादीहरूले एउटा मालवाहक ट्रेनलाई निशाना बनाए र बलेची–भांसीको बीचमा केही डिब्बालाई लिकबाट झारिदिए।
राज्यका कैयौँ क्षेत्रलाई माओवादीबाट मुक्त गराइसकिएको बताउने गृहमन्त्री रामसेवक पैंकरा ती घटनाहरूबारे भने कुनै प्रतिकृया दिन चाहिरहेका छैनन् । तर मुख्यमन्त्री रमन सिंहले पछिल्ला घटनाहरूबारे चिन्ता व्यक्त गर्दै माओवादीहरूले अहिले गाउँले, यात्रुबस, विद्यालय तथा हाट बजारहरूलाई निशाना बनाउन थालेको बताए।
त्यसले उनीहरू तनावमा रहेको देखाएको उनले जिकिर गरे। सिंहले भने, –‘उनीहरूले आफ्नो उल्टो गन्ती शुरू भएको थाहा पाइसके।’ माओवादीबारे जानकार वरिष्ठ पत्रकार रूचिर गर्ग त्यसलाई ‘गुरिला लडाइँ’को एउटा सामान्य तरिका मान्छन्।
सरकारले माओवादी प्रभावित भनिएका क्षेत्रमा सुरक्षाबलको उपस्थितिले उनीहरूमाथि दवाब बढिरहेको दावी गर्दै आएको छ। रूचिर गर्ग भन्छन्, –‘केही दिनसम्म कुनै आक्रमण नहुँदैमा माओवादी कमजोर भएको र केही ठूला आक्रमण हुँदैमा माओवादी बलियो भएको भन्न मिल्दैन।’
“








