पत्रकार ढकालमाथि प्रहरी दुर्व्यवहारको महासंघ र प्रेस चौतारीद्धारा खेद प्रकट

“पोखरा, माघ २३ । नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघका कार्यसमिति सदस्य प्रकाश ढकालमाथि समाचार संकलनको क्रममा मंगलवार प्रहरीले दुर्व्यवहार गरेकोमा खेद व्यक्त गरेको छ ।
‘सुरक्षामा खटिएका सुरक्षाकर्मीवाटै समाचार संकलनमा खटिएका पत्रकारमाथि कुटपिट हुनु स्वतन्त्र प्रेस माथि गरिएको आक्रमणको रुपमा हामीले लिएका छौँ’ महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दुर्घटनामा परि ज्यान गुमाएका विद्यार्थीको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पसका विद्यार्थी र प्रहरीविच भएको झडपको समाचार संकलन गर्न पुगेका ढकाललाई प्रहरीले पत्रकार परिचयपत्र देखाउँदा पनि निर्घात कुटपिट गरि घाईते वनाएका थिए । प्रहरीको कुटपिटबाट ढकालको खुट्टामा गहिरो चोट लागेको छ ।
महासंघले घटनाको तत्काल छानविन गरि दोषीमाथि आवश्यक कारवाहीको माग गर्दै समाचार संकलनमा खटिएका पत्रकारको भौतिक सुरक्षाको प्रत्याभुति गर्न स्थानीय प्रशासनसँग माग समेत गरेको छ ।
त्यसैगरी प्रेस चौतारी कास्कीले पनि पत्रकार ढकाललाई पृथ्वीनारायाण क्याम्पस गेट अगाडि मंगलबार प्रहरीले कुटपिट गरेको घटनाको घोर निन्दा र भत्र्सना गरेको छ ।
प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले जारी गरेको विज्ञप्तिमा सवारी दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी बोधराज ढकालको मृत्युको विषयलाई लिएर प्रहरी र विद्यार्थीबीच भएको झडपको समाचार संकलनमा खटिएका ढकाललाई कुटपिट गर्नु प्रहरी प्रशासनको दादागिरीको पराकाष्ठा भएको उल्लेख गरिएको छ ।
‘घाँटीमा परिचय पत्र भिरेर र आफू पत्रकार भएको बताउँदा बताउँदै निर्घात कुट्नु स्वतन्त्र प्रेस माथिको आक्रमण भएको प्रेस चौतारी कास्की ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न प्रेस चौतारी कास्की जोडदार माग गर्दछ ।’
विज्ञिप्तमा समाचार संकलनमा खटिएका पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासन समक्ष माग गरिएको छ ।”








