तत्कालै अर्काे क्षेप्यास्त्र परीक्षणको सङ्केत छैन– दक्षिण कोरिया

सोल, २१ असार । उत्तर कोरियाले तत्कालै फेरि अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । विश्व समुदायको आग्रहका बिपरित उत्तर कोरियाले मङ्गलबारमात्र एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको थियो । त्यसपछि पनि लगत्तै उत्तर कोरियाले अर्काे परीक्षण गर्नसक्ने भनी प्रचार गरिएको थियो ।

सो समाचार लगत्तै मङ्गलबारका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उत्तर कोरियाले अर्काे क्षेप्यास्त्र हान्ने तयारी गरिरहेको बताएका थिए । सो समाचारको दक्षिण कोरियाली रक्षा मन्त्रालयले बुधबार खण्डन गरेको छ । दक्षिण कोरियाली रक्षामन्त्री हान मिन्कुले आगामी केही समयभित्रै उसले अर्काे क्षेप्यास्त्र परीक्षण गर्ने बारेमा गरिएको खोजीमा त्यस्तै कुनै पनि सङ्केत नपाइएको जानकारी दिनुभयो । दक्षिण कोरियाली संसदलाई बुधबार बिहान सम्बोधन गर्दै रक्षामन्त्री मिन्कुले त्यस्तो अवस्था नरहेको पाइएको समाचारमा जनाइएको छ ।


सोमबार मात्र अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षण रोक्ने बारेमा पहल गर्न आग्रह गर्नुभएको थियो । उत्तरले मङ्गलबार गरेको परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन् । मङ्गलबार गरिएको क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाले गरेको पाचौँ परीक्षण हो । यस लगत्तै उसले अर्काे छैठौँ र यस्तै शक्तिशाली परीक्षणको तयारी गरिरहेको अनुमानका बारेमा बुधबार दक्षिण कोरियाले स्पष्ट गरेको हो ।

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तर रुपमा आणविक परीक्षण जारी राखेको छ । साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ । संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएका छन् ।

उत्तर कोरियाली राजधानी प्योङयाङको नजिकको समुद्रबाट परीक्षण गरिएको यो क्षेप्यास्त्र अलास्कासम्म पुग्नसक्ने भनिएको थियो । तर दक्षिण कोरियाले भने मङ्गलबारको यो परीक्षण बढीमा ९३० किलोमीटरसम्म मात्र पुग्न सक्ने बताएको छ । जापानले भने सो क्षेप्यास्त्र करिब २ हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अनुमान गरेको थियो । उत्तर कोरियाले भने आफूले अमेरिकासम्म पुगेर मार हान्न सक्ने क्षमताको यस्तो ब्यालेस्टिक बनाउने बताउदै आएको छ । रासस/ एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *