अपडेट– पोखरामा तनाव कायमै, चार राउण्ड अश्रुग्यास प्रहार

“पोखरा, माघ २३ । नेपाल विद्यार्थी संघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई नगरबसले ठक्कर दिएर मृत्यु भएको विरोधमा पृथ्वीनारायण क्याम्पस गेट अगाडी सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । बिहानैबाट विद्यार्थीको अवरोध हटाउन दमनमा उत्रीएको प्रहरीले धरपकड थालेपछि विद्यार्थी आन्दोलन उग्र बन्दै गएको हो ।
आज विहानैबाट विद्यार्थीहरुले क्यम्पस गेट अगाडी नगरबस तोडफोड र सडक अवरुद्ध पारेको आरोपमा प्रहरीले ढुङ्गामुढा एवं लाठीचार्ज गरी सडकबाट धपाएपछि बिद्यार्थी आक्रामक देखिएका हुन् । निरन्तर विद्यार्थी र प्रहरीबीच ढुङ्गा हानाहान चलिरहेको छ ।
ठूलो संख्यामा प्रहरी परिचालन गर्दा समेत आन्दोलन झन उग्र बनेपछि प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले विहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेविसंघले पोखरा १ बगर क्षेत्रमा विहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि पोखरामा नगरबस सञ्चालन भएका छैनन् । पिएन क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी र प्रहरी बीच मुठभेड भएको थियो । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ ।”








