विद्यार्थी नेताको मृत्युपछि पृथ्वीनारायण क्याम्पस तनावग्रस्त, प्रहरी र विद्यार्थीबीच झडप

“पोखरा, माघ २२ । नेपाल विद्यार्थी संघ स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापतिलाई नगरबसले ठक्कर दिएर मृत्यु भएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । आक्रोशित विद्यार्थीले क्याम्पस गेट भएर चल्ने नगरबसहरु तोडफोड गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको छ ।
झडको क्रममा प्रहरीले नेपाल विद्यार्थी संघका कपिल देव रानाभाट सहित ६ जनालाई पक्राउ गरेको बिद्यार्थीहरुले बताएका छन् । अहिले क्याम्पस परिसर रणभूमीमा परिणत भएको अध्यनरत विद्यार्थी सरोज थापाले बताए । प्रहरी हस्तक्षेप पछि बिद्यार्थी आक्रामक बनेको उनले बताए ।
अहिले क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । विद्यार्थी आक्रामक देखिएपछि पोखरामा नगरबसहरु सञ्चालन भएका छैन् ।
सोमवार साँझ बगरमा पैदल हिडिरहेका २४ बर्षीय बाधराज ढकाललाई नगरबसले ठक्कर दिएको थियो । स्याङजा आँधीखोला गाउँपालिका घर भएका ढकाल पोखराको बगरमा बस्दै आएका थिए ।
ढकाललाई ठक्कर दिने ग १ ख ३८३६ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो । मणिपाल अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीको भनाई छ ।
मृत्यु भएको घट्नामा बसका स्टाफ र चालकको गम्भीर गल्ती रहेको नेविसघंका विद्यार्थीहरुले बताएका छन् । उनीहरुका अनुसार झगड़ा पछी दुर्घटना भएकाले सत्य तथ्य छानबीन गरी घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग विद्यार्थी नेताहरुले माग गरेका छन् ।”








