कस्ता बिरामीलाई लगाइन्छ ‘करेन्ट’?

असार २१ । नेपालमा मानसिक रोगबारे चेतनाको कमी छ भन्ने कुरामा दुईमत छैन । कुन हदसम्म अज्ञानता छ भन्ने चाहिँ ठूलो प्रश्न हो । चेतनाकै अभावले गर्दा मानसिक रोग बैलैमा पहिचान नहुने र उपचार नपाउने अवस्था छ । त्यसैले स्वास्थ्यको यस्तो अभिन्न पक्षलाई हेला गरिएको पाइन्छ । यसबारे भ्रम पनि उत्तिकै छ । तर, विश्व जगतमा मानसिक रोगको उपचारमा विभिन्न पद्दति अपनाइन्छ र अनुसन्धानहरु पनि भइरहेका छन् । कुनै पनि मानसिक रोगको उपचारमा औषधि, मनोपरामर्श तथा अन्य तरिका अपनाइन्छ । जसमा विद्युतीय माध्यमबाट गर्ने उपचार ‘इलेक्ट्रो कन्भल्सिभ थेरापी’ (इसिटी) अर्थात् बोलिचालीको भाषामा ‘करेन्ट लगाउने’ विधि पनि पर्छ । यो उपचार पद्दति निकै पुरानो हो । अझै पनि विश्वभरि नै यसको प्रयोग गरिन्छ । सन् १९३८ देखि इसिटीको प्रयोग हुँदै आएको छ । तर, यो विधिको उपयोगमा विभिन्न अवरोध नआएका होइनन् ।

कुनै बेला मानसिक रोग र यसका उपचारविरुद्ध जनसागर नै ओर्लिएर आएको थियो । मानव अधिकारवादीहरुले यसको विरोध गरे । ‘मानसिक रोग लाग्यो भनेर ‘मेन्टल असाइलम’ मा थुनेर राख्ने र करेन्ट लगाइदिने पाप हो र मानव अधिकार हनन हो’ भनेर रोक लगाए, भ्रम फिजाए । सञ्चार माध्यमहरुले पनि यसबारे सकारात्मक समाचार र यथार्थ देखाएनन् । नेपालमा हिन्दी फिल्मको प्रभाव धेरै छ । यस्ता फिल्महरुमा पनि यो पद्दतिबारे नकारात्मक तरिकाले नै प्रस्तुत गरिएको देखिन्छ ।

के हो त इसिटी ?

इसिटीलाई ‘सक थेरापी’ पनि भन्ने गरिन्छ । जसमा विद्युतीय मेसिनबाट थोरै र नियन्त्रित तरिकाले बिरामीमा इलेक्ट्रिक करेन्ट दिइन्छ । जसले गर्दा केही बेरका लागि बिरामीमा छारे रोगजस्तै कम्पन आउँछ, अनि ठिक हुन्छ ।

कसलाई दिइन्छ ?

यसको प्रयोग सबै किसिमका मानसिक रोगका लागि गर्न मिल्छ तर सबैलाई उतिकै फाइदा नहुन सक्छ । धेरैजसो औषधिले ठिक नभएका बिरामीका लागि यो विधि अपनाइन्छ । डिप्रेसन, साइकोसिस जस्ता कडा मानसिक रोगले गर्दा कहिलेकाहीँ बिरामीहरु खाना खान छोड्छन्, बोल्न छोड्छन्, पानीसम्म पिउन मान्दैनन् । जुनै बेला सुतिरहन्छन् । ‘क्याटाटोनिया’ भनिने यस्तो अवस्थाका बिरामीलाई त इसिटीले चमत्कार गर्न सक्छ । आक्रामक र नियन्त्रण गर्न नसकिने बिरामीलाई यो विधिले काम गर्छ ।  त्यस्तै, गर्भवती महिलामा मानसिक रोग लागेमा औषधि दिनुभन्दा इसिटी गर्नु उपयुक्त मानिन्छ । बच्चा जन्मिसकेको अवस्थामा कडा मानसिक रोग लागेमा आमाले बच्चाको उचित हेरचाह गर्न सक्दैनन् । बच्चालाई असर नपुगोस् भनेर त्यस्ता सुत्केरीलाई छिटो निको पार्न इसिटी दिइन्छ ।

कडा डिप्रेसनमा बारम्बार आत्महत्या गर्ने सोच आउने र आत्महत्याको प्रयास गर्ने हुनाले बिरामीको ज्यान जोखिममा हुन्छ । मनोपरामर्श वा औषधिले त्यस्ता बिरामीलाई ठिक गर्न निकै समय लाग्छ । इसिटीमार्फत छिटो उपचार गरेर बिरामीको ज्यान जोगाउन सकिन्छ ।  इसिटी कहाँ–कहाँ गरिन्छ र यसका आधार के हुन् भन्ने जिज्ञाशा धेरैले राख्ने गरेका छन् । जहाँ–जहाँ मानसिक रोगको उपचार हुने गर्छ, त्यहाँ इसिटी गरिन्छ । कुनै पनि मानसिक रोगको उपचारका लागि बनाइएको आचारसंहितामा यसको प्रयोग गर्नु भनेर उल्लेख गरेको पाइन्छ ।

प्रायः बच्चाहरुमा यसको प्रयोग गरिँदैन । विश्वमा ८० वर्षभन्दा माथिको बिरामीलाई पनि यो विधिबाट उपचार गरिएका उदाहरण छन् । हृदयघात भएका वा अन्य मुटुका रोगीहरुमा पनि इसिटीको प्रयोग हुने गरेको छ । कसैलाई इसिटी दिनै नमिल्ने भन्ने अवस्था खासै छ्रैन । तर, इसिटी चलाउनु अघि केही जाँचहरु गर्नुपर्छ । खासगरी, मुटुको इसिजी, टाउकाको सिटि स्क्यान, इसिजी, रगत, छाती आदि जाँच गर्नुपर्छ । करेन्ट लगायो भने दिमाग खत्तम हुदैन र ? भन्ने एक थरि प्रश्न आउने गर्छ । त्यस्तो होइन । करेन्ट लगाउने भन्ने बित्तिकै बिजुलीको तारले लगाउने होइन । यो त अत्याधुनिक प्रविधिमा बनाइएको मेसिनबाट एकदम कम पावरको विद्युत दिने हो । विश्वमा यसबारे धेरै अनुसन्धान गरिएको छ । मेसिन र प्रविधिमा धेरै सुधार गरिएको छ ।

यस्तै, अर्को प्रश्न ‘करेन्ट लागेर मान्छे मर्ने त हुँदैन ?’ भन्ने छ । इसिटी गरेर मान्छे मर्ने भन्ने हुँदैन । नेपालमा पनि वर्षौंदेखि इसिटीको सफल प्रयोग गरिँदै आइएको छ । अहिलेसम्म मृत्यु भएका घटना एकदमै न्यून छन् । इसिटीबाट हुने मृत्युदर एक लाखमा १–२ हुनु भनेको एकदमै न्यून हो । तर, इसिटी दिएलगतै भने केही समयका लागि होस गुमाउने वा स्मरण शक्तिमा कमी आउने हुन्छ । केही समयको अन्तरालमा त्यो आफैँ ठिक हुन्छ ।

कत्तिको खर्चिलो छ?

यो सस्तो उपचार विधिमा पर्छ । यसको प्रयोगबाट अस्पतालमा बस्ने समय र औषधिको मात्र कम पर्ने हुनाले बिरामीको खर्च कम हुन्छ । प्रायः जसो बिरामीलाई ६ देखि १२ पटकसम्म इसिटी लगाइन्छ । महिनामा एक पटक ‘मेन्टेन्स डोज’ लगाउन पनि मिल्छ । मेन्टेन्स डोजका लागि अस्पताल भर्ना हुनु पर्दैन । इसिटी बारे भ्रम र कम जानकारीका कारण जनमानसमा एकखाले त्रास देखिन्छ । करेन्ट भन्ने बित्तिकै डराउने, तर्सिने गर्छन् बिरामीका आफन्त । यो मानसिकताबाट बाहिर निस्कनु जरुरी छ । यो एकदमै कम खर्चिलो,  भरपर्दो र राम्रो उपचार पद्दति हो ।

(डा. थापा ‘रिदम न्युरोसाइक्याट्री हस्पिटल एन्ड रिसर्च सेन्टर’ एकान्तकुना, ललितपुरका निर्देशक हुन् ।)

स्रोत : स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *