इलामका किसानले विषादी प्रयोग घटाउँदै


“
असार २१, इलाम । इलामका किसानले दीर्घरोग बढाउने बुझेपछि कृषि उत्पादनमा रासायनिक विषादी प्रयोगलाई क्रमशः घटाउँदै लैजान थालेका छन् । रासायनिक विषादी प्रयोगकै कारण कृषि उपज बिक्न छोडेपछि र विषादीकै कारण सिङ्गो कृषि क्षेत्र बदनाम बन्न गएपछि किसानले रासायनिक विषादी प्रयोग घटाउन थालेका हुन् । जिल्ला समन्वय समिति इलामले जिल्लाका बढी रासायनिक विषादी प्रयोग हुने क्षेत्रको सूची तयार गरी जैविक विषादी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ।
समितिको २०औं परिषद्ले रासायनिक विषादी कम गर्दै लैजाने नीति लिएको र २१ औं परिषद्ले पनि त्यसलाई निरन्तरता दिएको छ । यस्तै, होटल एसोसिएसन इलामले समेत उक्त नीतिलाई सहयोग पुर्याउँदै जिल्लाका होटल व्यवसायीले किसानको अर्गानिक उत्पादन मात्र किन्ने निर्णय गरेपछि किसानले रासायनिक विषादी प्रयोगलाई घटाउन थालेका हुन् ।
यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जिल्लाका विभिन्न स्थानमा गरेको अध्ययनले रासायनिक विषादी बढी प्रयोग हुने क्षेत्र र गाउँमा जटिल र दीर्घरोगका समस्या बढी देखिएको प्रतिवेदन सार्वजनिक गरेपछि कृषि उत्पादनमा बढी मात्रामा रासायनिक विषादी प्रयोग गरिरहेका किसान हच्किएका हुन् । कार्यालयको प्रतिवेदनले विषादी बढी प्रयोग भइरहेका ठाउँमा नै क्यान्सर, मिर्गौला, मुटुलगायतका रोगीको सङ्ख्या बढी देखिएकाले कृषि क्षेत्रमा विषादी नियन्त्रण गर्नुपर्ने सुझाव दिएको थियो ।
‘पहिले–पहिले नबुझेर चियाखेती र तरकारीमा विषादीको प्रयोग हुन्थ्यो तर अहिले विषादी प्रयोग घटेको छ,’ सोयाङका कृषक दाताराम सञ्जेल भन्छन्, ‘किसानमा बढ्दै गएको जनचेतनाका कारण विषादी प्रयोग कम भएको हो ।’ इलामका पाखाबारीमा मानव स्वास्थ्य र माटोका लागि समेत हानिकारक मानिएको रासायनिक विषादी प्रयोग घट्दै गएपछि त्यसको सट्टामा जैविक विषादीको प्रयोग हुन थालेको छ । गोदक र फिक्कलको पान्दाममा गरिएको एक परीक्षणमा मानिसको रगतमा नै रासायनिक विषादीको असर देखिएको थियो । इलामलाई १५ वर्षमा विषादीमुक्त बनाउने लक्ष्य राखिएको छ । रासस
“
