प्रदेश नं १ लाई विकास समृद्धिमा पहिलो प्रदेश बनाउने प्रतिबद्धता

विराटनगर, माघ २२ । प्रदेश नं १ को पहिलो बैठक सम्पन्न भएको छ । ज्येष्ठ सदस्य ओमप्रकास शरावगीको अध्यक्षतामा बसेको बैठकले बैठक सञ्चालन अन्तरिम कार्यविधी पारित गरेको छ ।

प्रदेश सभाको पहिलो बैठकमा सांसदहरुले हिमालदेखि तराईसम्म फैलिएको प्रदेशलाई समृद्ध प्रदेशको रुपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । सांसदहरुले प्रदेश नम्बर एकलाई विकास समृद्धिमा पहिलो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त पनि गरे ।

नेकपा एमालेका नेता एवं प्रदेश सांसद भीमप्रसाद आचार्यले प्रदेश एकमा जलस्रोत र प्राकृतिक स्रोत पर्याप्त भएपनि विगतमा यसको समुचित विकास गर्न नसकिएको बताए । उनले प्रदेशमा समृद्धि ल्याउन एकजुट भएर लाग्ने बताए ।

नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठले सबै दल मिलेर राम्रो र सम्मुनत प्रदेश बनाउने प्रयास गर्नुपर्ने बताए । ‘विश्वको सर्वोच्च शिखर सगरमाथादेखि होचो केचनासम्म यही प्रदेशमा पर्छ, चारवटा धाम मध्ये एउटा धाम यही प्रदेशमा पर्ने भएकोले । धार्मिक र पर्यटनको हिसावले यो प्रदेश सम्मुन्नत बन्छ’ उनले भने ।

माओवादी केन्द्रका इन्द्रबहादुर आम्वोले नेपाललाई समृद्ध बनाउने वामपन्थी गठबन्धनको संकल्प रहेको र त्यसलाई पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । ‘हामीसंग विगतमा गरेका प्रतिबद्धता पूरा गर्ने समय आएको छ’ उनले भने ।

संघीय समाजवादी फोरम नेपालका जयराम यादवले प्रदेश १ को समावेशी विकास र समृद्धिका लागि आफ्नो पार्टीको समर्थन रहने बताए ।

राप्रपाकी इन्दिरा राईले गणतन्त्र र धर्मनिरपेक्षता नफापेको भन्दै अब सोच्नु पर्ने समय आएको बताइन् । राष्ट्रिय विखण्डनका विषाक्त आवाज सुनिन लागेको भन्दै उनले राष्ट्रका लागि जुटेर अगाडि बढ्नु अनिवार्य भएको बताइन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेले प्रदेश नम्बर १ को पुनः सीमाङ्कन गरी लिम्बुवान र खम्बुवान प्रदेश बनाउन माग गरिन् । संघीयतामा गएका कारण अमेरिकाले विकासको शिखर चुमेको दावीगर्दै उनले नेपालले त्यो अबसर धेरै गुमाएको दावी गरिन ।

स्वतन्त्र सांसद नारायणबहादुर मगरले धार्मिक र पर्यटकीय स्थलको विकास गर्न सकेमा लाखौ पर्यटक भित्राएर करोडौ आम्दानी गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =