प्रहरीकै मिलेमतोमा बलात्कार घटना गुपचुप, इन्सपेक्टर निलम्बनमा

“
इटहरी, माघ २२ । काठमाडौंकै जस्तो इटहरीमा पनि एक बलात्कारको घटना प्रहरीको मिलेमतोमा गुपचुप पारिएको रहस्य खुलेको छ । घटनाबारे प्रहरीको माथिल्लो निकायबाट छानविन भइरहेको जनाइएको छ ।
एक महिना अघि भएको बालिका बलात्कारको घटना प्रहरीकै मिलेमतोमा गुपचुप रहेको पाइएपछि क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको निर्देशनमा इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर चिरञ्जिवि दाहाललाई निलम्बन गरेको छ । उनलाई अहिले घटनाबारे थप अनुशन्धानका लागि बिराटनगर झिकाइ प्रहरीले सोधपुछ अघी बढाएको छ ।
सामाजिक सञ्जालबाट नजिकिदै गएपछि अंग्रेजी नयाँ बर्षको अवसर पारेर घुम्न जाने भन्दै इटहरीको रोयल रिसोर्टमा बालिकालाई बलात्कार गरेका थिए । उक्त घटना बाहिरिनु अघिनै इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर दाहालले पिडित परिवारलाई धम्क्याइ मिलापत्र गर्न लगाएपछि एक महिनासम्म घटना त्यतिकै गुपचुप रहेको थियो ।
घटना भएको करिव एक महिना पछि कोशी अञ्चल प्रहरी कार्यालय धरानका एसएसपी हरिबहादुर पालको संयोजकत्वमा छानबिन समिति गठन गरी टोलीले मुद्धा दर्ता गर्दै छानबिन अघि बढाएको छ । यता घटनामा संलग्न एक ब्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोकम लिम्बु रहेको प्रहरीले बताएको छ । आफु बिदामा बसेको बेला यस्तो घटना भएको कारण भर्खरै मात्र घटनाबारे जानकारी पाएको र अनुशन्धान प्रकृया अघी बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्जय कुमार राउतले बताए ।
यता घटना पछि इटहरीमा रहेका महिला अधिकारवादीहरूले इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र इलाका प्रहरी कार्यालय इटहरीमा ज्ञापन पत्र बुझाएका छन् । घटनाको बिरोध जनाउदै संलग्न ब्यक्तीहरूलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही गर्न माग गर्दै महिला अधिकारवादीहरूले आइतबार दुवै स्थानमा ज्ञापन पत्र बुझाएका हुन ।
“








