प्रदेशसभाको बैठक बसेकै दिन राजधानी माग्दै वीरगन्ज बन्द

वीरगन्ज, माघ २१ । प्रदेश नम्बर २ को राजधानी माग गर्दै आइतबार वीरगन्ज बन्द गरिएको छ । जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बसेको दिन नै वीरगन्ज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर बन्द आह्वान गरिएको हो । बन्दका कारण वीरगन्ज क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

आन्दोलनारीहरुले केही सवारी साधनमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ ।

आन्दनोलन संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् । बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् ।

यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात माघ ४ गते पनि बन्द आह्वान गरेको थियो । शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेका कारण बन्द गर्नुपरेको संघर्ष समितिको दाबी छ ।

राजधानीका कारण वीरगन्ज थप धरासायी बन्दै गरेको भन्दै बन्दको बिकल्प खोज्न नागरिक स्तरबाट आग्रह गरिएको छ । करिब दुई बर्ष अगाडिको लगातारको मधेश बन्दका कारण सबैभन्दा बढी मारमा परेको वीरगन्ज फेरि एक पटक अर्को बाहना तर बन्दको राजनीतिको चुपुवामा परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =