‘घुम्न जाउँ धरान’ नारा सहित सडक उत्सव शुरु !

“
धरान, माघ २१ । व्यापार व्यवसायसँगै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको १४औँ धरान सडक उत्सव आईतबार देखि सुसनरीको धरानमा शुरु भएको छ । सडक उत्सवको उद्घाटन गर्दै धरान उपमहानगपलिकाका मेयर तारा सुब्बाले धरानको पर्यटन प्रवद्र्धन गर्न उपमहानगरपलिकाले सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे ।
होटल एशोशिएसन अफ धरानको आयोजनामा धरान १२ स्थित चतरालाईनमा शुरु भएको उत्सव माघ २३ गते सम्म चल्ने छ ।
‘घुम्न जाउँ धरान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सडक उत्सवमा धरानको छाताचौक देखि चतरालाईनसम्म विभिन्न प्रकारका ११४ वटा विभिन्न जातीय परिकार सहित पर्यटन प्रवद्र्धनका स्टलहरु राखिएका छन् ।
धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न आयोजित सडक उत्सवले धरानलाई पूर्वाञ्चलको पर्यटकीय हवका रुपमा विकास गर्न तथा यहाँका स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुर्याउने संस्थाका अध्यक्ष सुवर्ण श्रेष्ठले बताए । उनले उत्सवलाई लाखौको संख्यामा आन्तरिक पर्यटकले अवलोकन गर्ने तथा करोडौको कारोवार हुने विश्वास पनि व्यक्त गरे ।
सडक उत्सवमा विभिन्न आदिवासी जनजातिका परिकारका स्टल, सस्तो बजार, विभिन्न हस्तकलाका सामग्री, औद्योगिक प्रर्दशनी, तथा विविध खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
सडक उत्सवले धरानका होटल व्यवसायीलाई मात्र नभएर सबै प्रकारका व्यवसायीहरुको ब्यापार व्यवसायलाई प्रर्वद्धन गर्न टेवा पुर्याउने आयोजकले जनाएको छ । सडक उत्सवको अवसरमा उद्घाटनका दिन स्थानीय कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ ।
“








