मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

गौरीगन्जमा राप्रपा विजयी

दमक, २१ असार । स्थानीय तह निर्वाचनमा झापाको गौरीगन्ज गाउँपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हासिल गरेको छ । राप्रपाका अध्यक्षका उम्मेदवार बाबुराज श्रेष्ठ निर्वाचित हुनुभएको हो । उहाँले तीन हजार ७४० मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिनुभयो । अध्यक्षमा उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, गौरीगन्ज गाउँपालिकाको उपाध्यक्षमा भने काँग्रेसका दीपेन्द्र थापा निर्वाचित हुनुभयो । ६ वटा वडा रहेको सो गाउँपालिकाको वडामा काँग्रेसले चार र नेकपा (माओवादी केन्द्र), र नेकपा (एमाले)ले एक÷एक वडामा जित हासिल गरेको छ । काँग्रेसबाट वडा नं १ मा कार्तिकलाल राजवंशी, २ मा उघनुप्रसाद राजवंशी, ३ मा मखना महतो र ६ मा बद्रीनारायण यादव वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, वडा नं ४ मा माओवादी केन्द्रका कुल्चन गिरी र ५ मा एमालेका विजयसिंह गन्गाई वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । राप्रपाले योसँगै झापाको कचनकवल र हल्दिबारी गाउँपालिकामा पनि प्रमुख पदमा विजय हासिल गरेको थियो । रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com