कोईलाहा तालमा महोत्सव आयोजना गरिने

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ स्थित कोईलाहा तालमा महोत्सव आयोजना गरिने भएको छ ।

तालको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले कोईलाहा ताल व्यवस्थापन समितिले पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो।
फागुन १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारू परिकार, स्थानीय उत्पादन, व्यापारिक सामग्री लगायतका स्टलहरू रहने छन् । झन्डै १५ लाख लगानी रहने महोत्सवमा १५ लाख बराबरको आम्दानी हुने अनुमान गरिएको छ ।


महोत्सवमा कैलालीको धनगढी उपमहानगरपालिका तथा गोदावरी, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिका एवं कैलारी गाउँपालिकाका लगायतका स्थानबाट गरी एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

सो ताल व्यवस्थित भएको छोटो समय भएको छ । नेपाली सेनाको नम्बर २ राष्ट्रिय विकास गण बढैपुरले दुई दर्जन बढी भौतिक संरचना निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको थियो ।

कोइलाहा ठुलो ताल व्यवस्थापन तथा परिचालन समितिका कर्मचारी पहलबहादुर सलामीमगरले ताल अवलोकन गर्न पछिल्लो समय आन्तरिक तथा बाह््रय पर्यटकहरूलाई आकर्षण गर्न सफल भएको बताए ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको तालतलैया विकास कार्यक्रम अन्तर्गत सेनाले पहिलो चरण अन्तर्गत ९७ लाख ७४ हजार रुपैयाँ बराबरको लागतमा संरचना निर्माण गरेको थियो ।

ताल क्षेत्रमा पर्यटकहरूको सुविधाका लागि दुई वटा पिकनिक घर, खाना पकाउँने तथा मासु पोल्ने भाडा, शौचालय, ताल वरिपरि ग्राभिल बाटो समेत निर्माण गरिएको छ ।

तालमा जलयात्राका लागि चार वटा ढुङ्गाको व्यवस्था गरिएको छ । तालको बिचमा शिव मन्दिर र दृश्यावलोकनका लागि ३० फिट अग्लो भ्यू टावर निर्माण गरिएको छ । तालको वरिपरि गरी ११ वटा प्रतीक्षालय, काठ पुल निर्माण, सौन्दर्यवद्र्धक बोटबिरुवा समेत लगाइको छ ।

कैलारी गाउँपालिकाको स्वामित्वमा रहेको ७२ हेक्टर क्षेत्रफलमा फैलिएको कोइलाही तालमा माछापालनका लागि पाँच वर्षका लागि एक करोड ४० लाख रुपैयाँमा ठेक्का दिइएको छ । सदरमुकाम धनगढीबाट ४० किलोमिटर र पूर्वपश्चिम राजमार्ग अन्तर्गत राजीपुर बजारबाट नौ किलोमिटर दक्षिणमा ताल अवस्थित रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =