सांसद र व्यवसायीलाई धम्काएर करोडौं फिरौती माग्ने पक्राउ

“
पोखरा, माघ १८ । प्रदेश सभा सांसद विन्दु कुमार थापा र व्यवसायी कालु गुरुङलाई धम्काएर फिरौती माग्ने ४ जनालाई जिल्ला प्रहरी कार्यलय कास्कीले सार्वजनिक गरेको छ । विहिबार प्रहरीले कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मुख्य योजनाकार स्याङजा टक्सारका शंकर सहित स्याङजा फेदीखोला घर भई पोखराको जरेबर बस्दै आएका अमृत खड्का, पर्वत कुश्मा नगरपालिका घर भई पोखरा ६ जरेबरमै बस्ने रामु सुवेदी र स्याङजा फेदीखोलाका शिव कार्की रहेका छन् ।
उनीहरुले कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ, बोधराज कार्की र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई मोटो रकम माग गर्दै धम्काएका थिए । प्रहरीले उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालत कास्कीबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको जनाएको छ ।
सांसद थापालाई उनीहरुले २ करोड रुपैयाँ माग गर्दै विभिन्न नम्बरबाट धम्क्याउदै आएका थिए । थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । ‘चुनाब सम्पन्न भए लगत्तै निरन्तर धम्की आईरहेको थियो, दिनमा ५ पटकसम्म फोन आउँथ्यो, थापाले भने–त्यसपछि मैले प्रहरीमा उजुरी दिएको हुँ ।’ ‘करिब २ महिना मेरो पुरै तनाबमै बित्यो ।’
उनीहरुले थापालाई मनोज पुनको नाम लिएर फोनमार्फत धम्की दिदै आएका थिए । मनोज पुनको मान्छे हुँ भन्दै बुटवलको घटना दोहोरिएला भनेर धम्क्याउने गरेको थापाले बताए ।
उनीहरुले कहिले नेपालबाट कहिले भारत पुगेर भारतीय मोवाइलबाट फोन गरेर धम्काउदै आएका थिए ।
“








