खेलकुद आयोजना गर्ने विद्यालयलाई पाँच लाख : त्रिपाठी

“
नवलपरास, माघ १७ । ‘स्वास्थ्यको लागी खेल, राष्ट्रका लागी खेल’ भन्ने नारा सहित सुस्ता गाउपालिका वडा नं २ कुडियास्थित महेन्द्र माध्यमिक विद्यालयको आयोजनामा २० औ बेलाटारी स्रोत केन्द्र स्तरीय आधारभुत तह खेलकुद प्रतियोगीता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन मंगलबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले एक कार्यक्रमको बिच गरे ।
कार्यक्रममा बोल्दै नेता त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्र भित्र स्रोतकेन्द्र स्तरीय खेलकूद आयोजना गर्ने विद्यालयलाई सांसद विकास कोषबाट पाँच लाख आर्थिक सहयोग दिने घोषण गरेका थिए । त्रिपाठीले वर्तमान देउवा सरकारद्वारा गैर कानुनी रुपले अरबौ रुपया निकासा गर्दा पनि उखुको मुल्य तोक्न सरकार असमर्थ रहेको बताउदै कामचलाउ सरकारको विदाई पछि बन्ने बाम गठबन्धनको सरकारले किसानको उचित माग संबोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रियाज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं.१ (ख)का प्रदेश सभा सदस्य अजय बहादुर शाही, सुस्ता गाऊँपालिका प्रमुख राम प्रसाद पाण्डे, नेपाल पत्रकार महा संघका केन्द्रिय सदस्य पुरषोत्तम सुबेदी, सहायक जिल्ला शिक्षा अधिकारी तारा राम लम्साल, पुर्व क्याम्पस प्रमुख सत्यदेव पाण्डे,करम हुसैन अन्सारी, खडक बहादुर कमाल बेलाटारी स्रोत केन्द्रका स्रोत व्यक्ति दधिराम शर्मा, लगायतहरुले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त खेलकुद प्रतियोगीतामा बेलाटारी स्रोत केन्द्रका ६७ विद्यालयहरुको सहभागिता रहको छ । खेलकुद तीन दिन सम्म संचालन हुने छ ।
“








