एमालेको प्रदेश कमिटीले नै मुख्यमन्त्री चयन गर्ने

काठमाडौं, माघ १६ । नेकपा एमालेले ४ वटा प्रदेशका मुख्यमन्त्री चयन गर्ने जिम्मा पार्टीको प्रदेश कमिटीलाई दिने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले मुख्यमन्त्री चयनको जिम्मा प्रदेश कमिटीलाई दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष बामदेव गौतमले मुख्यमन्त्री चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिने निर्णय भएको जानकारी दिए ।

प्रदेश कमिटीबाट सर्वसम्मत रुपमा मुख्यमन्त्री चयनका लागि प्रयास गरिने उनको भनाइ छ । सहमति नभए संसदीय दलको चुनाव गराउने र चुनाव जित्ने व्यक्तिलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष गौतमले बताए ।

एमालेले राष्ट्रियसभा निर्वाचन अघि माघ १८ देखि २१ गतेसम्म आफ्ना उम्मेदवारलाई प्रशिक्षण दिने निर्णय समेत गरेको छ ।
वाम गठवन्धनको दोस्रो घटक नेकपा माओवादी केन्द्रसँगको सहमतिअनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री पाएको छ । यस्तै प्रदेश नम्बर १, ३, ६ र ७ को सभामुख पनि एमालेको भागमा परेको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ ।

बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वा्चित सदस्यहरु, प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, र उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको हो ।

एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान कामचलाउ सरकारका संविधान, कानून, लोकतान्त्रिक मूल्य मान्यता र नैतिकता विपरीतका कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

एमालेलगायतका ताजा जनादेश प्राप्त राजनीतिक दलहरू, सञ्चार जगत् र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै कामचलाउ सरकारले गरेका राष्ट्रिय ढुकुटी दुरुपयोग, मनपरी नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी निर्णयको बैठकले भत्र्सना गरेको छ ।

बैठकले नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्धभत्ता पाउने उमेर हद घटाएर ६५ वर्ष पुर्याएको निर्णयलाई निर्लज्जताको संज्ञा दिएको गौतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =