मनाङ मस्र्याङ्दीलाई हराउदै पुलिस सेमिफाइनल प्रवेश

“पोखरा, माघ १६ । १६ औं आहा रारा गोल्डकप प्रतियोगितामा पाँच पटक लगातार बिजेता बन्दै आएको मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै नेपाल पुलिस क्लब सेमिफाईनल प्रवेश गरेको छ ।
मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोल अन्तरले हराउदै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो । पुलिस क्लव माघ १८ गते धरान फुटबल क्लब सँग प्रतिश्पर्धा गर्नेछ ।
पुलिसको जितमा सुमन लामा, निरकुमार राई र दिनेश राजबंशीले एक/एक गोल गरे । खेलको ५३ औ मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसका लागि गोलको खाता खोलेका थिए । राईले कर्नरबाट प्रहार गरेको बल मनाङका खेलाडीले हेड गर्दै रिवाउड् बललाई डिबक्सबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसै गरी खेलको ५७ औ मिनेटमा दिनेश राजबंशीले गोल गर्दै गोल अन्तर दोब्बर बनाउन सफल भए । त्यसै गरि खेलको ७२ औ मिनेटमा सुनिल लामाले गोल गरे ।
तीन गोल अन्तरले पछि परेको मनाङ मस्र्याङ्दी क्लबले खेलको ८२ औ मिनेटमा एक गोल गर्यो । विशाल राईले गोल गरेका हुन् । मनाङका टिम क्याप्टेन अनिल गुरुङले डि बक्स भित्र मिलाई दिएको पासलाई राईले हेड गर्दै गोलमा परिणत गरेका थिए ।
मंगलबारको खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका सुमन लामा बन्न सफल भए । बुधबारको पहिलो सेमिफाइनल खेल उत्तर बरिन्धरा क्लब बंगलादेश र थ्री स्टार क्लबबीच हुनेछ ।”








