बगरमा लगाएको उखुखेतीबाट लाखौं आम्दानी

“
धनगढी, माघ १६ । नदीको बगरमा उखुखेती गरी कञ्चनपुरका किसानले ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । गतिलो आम्दानी हुने भएपछि किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उनिहरु उखुखेती गर्दै आएका छन् ।
पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४ सय २९ घरधुरीले २ सय ८० बिघा नदीको बालुवाले भरिएको बगरमा उखुखेती गरिरहेका छन् ।
गतिलो आम्दानी हात पर्दा आर्थिक रुपमा सक्षम भएको लालझाडीका गंगाराम चौधरीले बताए । नेपाल रेडक्रस सोसाइटीले स्थानीय तहसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।
कृषकहरुले उखुको बजारीकरणका लागि स्थानीय एग्रोभेट, सहकारी, चिनीमिलसँग समन्वय र सहकार्य गर्दै आएको बताएका छन् ।
वनहरा, स्याली, सुनवरा, मछेली र दोदा नदीको बगरमा गरिएको उखु खेतीबाट सन् २०१५ मा २६ लाख २६ हजार, सन् २०१६ मा ४४ लाख ७६ हजार र सन् २०१७ मा ४९ लाख ८० हजार आम्दानी भएको थियो ।
चालू आवमा बगरमा उखुखेती गर्दै आएका किसानल ५२ लाखभन्दा बढी आम्दानी गर्न सफल हुने बताइएको छ ।
“








