माओवादीको मत एमाले र मालेको नाममा गणना गरिएपछि

धरान, २० असार– धरान उपमहानगरपालिकाको मतगणनाका क्रममा निर्वाचन आयोगका गणकले नै माओवादी केन्द्रले प्राप्त गरेको मत नेकपा एमाले र नेकपा मालेको नाममा गणना गरेको भेटिएको छ । आयोगबाट खटिएका गणकहरुले नै माओवादीको ५० मत एमालेका नाममा गणना गरेपछि धरानमा विवाद उत्पन्न भएको छ । विवादका कारण मतगणना स्थगित छ । उक्त विवादमा माओवादी र नेकपा मालेको चुनाव चिह्न एउटैजस्तो देखिएकाले मतगणना गर्ने बेला अप्ठेरो भएको विषय पनि सतहमा आएको छ ।

माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा हो भने मालेको हँसिया र तारा हो । यही कारणले संविधान सभाको पहिलो चुनाव यता माओवादीको मत मालेलाई गएको भनेर पनि रिपोर्टहरु सार्वजनिक भएका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा पनि धेरै ठाउँमा मालेले माओवादीको मत पाएको विषय सार्वजनिक भएको थियो । मतगणनामा झेल गरेको भन्दै निर्वाचन आयोगबाट खटिएका गणक मानबहादुर कार्की र धनकुमार राईलाई मतगणना स्थलबाट निस्काशन गरिएको छ । उनीहरुले माओवादी केन्द्रले पाएको ५० मत एमालेको सूचीमा राखेको आरोप लागेको छ ।

धरान उपमहानगरपालिकाको ९ र ११ नम्बर वडाको मतगणना गर्ने बेलामा माओवादीको मतलाई एमालेको सूचीमा राखेको आरोप लागेको हो । त्यस्तै माओवादीको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा परेको मतलाई मालेको हँसिया तारामा परेको भन्दै एमाले र मालेबाहेकका दलहरुले विरोध जनाएका छन् । विवादका कारण अहिले धरानको मतगणना रोकिएको छ । विवाद समाधानका लागि सर्वदलीय बैठक डाकिएको छ । असन्तुष्ट दलहरुले ९ र ११ नम्बर वडाको मत पुनः गणना गरिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *