भोली खग्रास चन्द्रग्रहण : कुन राशीलाइ कस्ताे प्रभाव ?

काठमाडौं, माघ १६ । भोली(माघ १७ गते) वेलुकी खग्रास चन्द्रग्रहण लाग्दैछ । वेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रोदय हुने तर चन्द्रमा उदाउनु २३ मिनेट अघिनै ग्रहण स्पर्श भएर चन्द्रमा उदाउने छ । भोली वेलुकी लाग्ने खग्रास चन्द्रग्रहण शुरुवात (सम्मिलन) वेलुकी ६ बजेर ३६ मिनेटमा, मध्यकाल ७ बजेर १६ मिनेटमा हुदै क्रमिक रुपमा छोडने (उन्मिलन) ७ बजेर ५३ मिनेटमा हुँदै राति ८ बजेर ५७ मिनेटमा मोक्ष वा ग्रहण अवधि समाप्त हुनेछ । ग्रहणको जम्मा अवधि ३ घण्टा २ मिनेटको हुनेछ । चन्द्रग्रहण लाग्नु भन्दा आठ घण्टा अगाडीबाट सुतक लाग्ने हुदाँ विहान ८ः५५ बजेबाट सुतक लाग्ने छ । भोली लाग्ने खग्रास चन्द्रग्रहण निलो रंगमा देखिने सम्भावना छ । वैज्ञानिकहरुले यसलाई व्लू मून भनेका छन् । यो चन्द्रग्रहण भन्दा १५० वर्ष अघि लागेको थियो । यो खग्रास चन्द्रग्रहण मध्य पूर्वी एशिया लगायतका स्थानबाट देख्न सकिने छ ।

भोली वेलुका लाग्ने खग्रास चन्द्रग्रहण तिष्य र अश्लेषा (हु,हे,हो,डा,डि,डु,डे,डो) नामाकरण भएका वा कर्कट राशिमा चन्द्रग्रहण लाग्ने हुदाँ यि नामाकरण भएका व्यक्तिलाई अतिकष्ट हुने ज्योतिष शास्त्रको फलादेश छ । ग्रहण अवधिभर कर्कट राशिमा पुगेका चन्द्रमा हुनाले कर्कट राशि भएका महानुभावहरुले विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ । शारीरिक एवं मानशिक रुपमा कमजोर हुनुहुन्छ भने ग्रहण अवधिभर घरैमा वस्नु राम्रो हुनेछ ।

ज्योतिष शास्त्रका अनुसार यस खग्रास चन्द्रग्रहणले मेष, मिथुन,कर्कट,सिंह,वृश्चिक,धनु,मकर र मिन राशि हुने महानुभावहरुलाई वढि नकरात्मक असर गर्ने हुदाँ उक्त राशि हुने महानुभावहरुले चन्द्रग्रहण हेर्नु नहुने र हेरेमा विभिन्न कष्ट हुने फलादेश छ । वाँकी वृष, कन्या, तुला र कुंभ राशि हुने महानुभावले हेरेमा शुभफल पाईने कुरा ज्योतिष शास्त्रमा उल्लेख भएपनि नाङ्गो आँखाले ग्रहण हेर्न नहुने वैज्ञानिक तर्क रहेको छ ।

यही वर्षको गत श्रावण २३ गते जनै पूर्णिमाको दिन खण्डग्रास चन्द्र ग्रहण लागिसकेको छ । यो २०७४ वर्षमा नेपालको भू–भागबाट दुइवटा चन्द्रग्रहण देखिएको छ । जसमा खण्डग्रास चन्द्र ग्रहण र खग्रास चन्द्रग्रहण रहेका छन् । अग्नी पुराणमा उल्लेख गरेअनुसार प्रत्येक ग्रहण १८ वर्ष ११ दिन वितेपछि पुनः हुन्छ । साधारण तय सूर्य ग्रहणको अपेक्षा चन्द्रग्रहण धेरै देख्न सकिन्छ । जवकी सूर्य ग्रहण पृथ्वीको कम भू–भागबाट प्राय एकसय मील भन्दा कम चौडाई र दुई हजारबाट तीन हजार मील लामो भूभागबाट देखिन्छ । खग्रास चन्द्रग्रहण अधिकतम चार घण्टा सम्म मात्र देख्न सकिन्छ । सूर्य ग्रहण अधिकतम दुई घण्टा सम्म मात्र देख्न सकिन्छ । चन्द्र ग्रहण राति लाग्ने हुदाँ रातिको समयमा अन्धकार छाउनु कुनै अनौठो नलाग्न सक्छ । यदी खग्रास सूर्य ग्रहण लाग्ने हो भने पृथ्वी पुरै अन्धकार हुन्छ । दिउसै वक्ति वाल्नु पर्ने अवस्था आउछ । अर्थात पुरै अन्धकार हुन्छ । खगोल शास्त्रका अनुसार १८ वर्ष १८ दिनको अवधिभरमा ४१ वटा सूर्यग्रहण र २९ वटा चन्द्रग्रहण लाग्छ । एक वर्षमा ५ सूर्य ग्रहण र दुईवटा चन्द्रग्रहण हुन्छ । पृथ्वीको एकै स्थानबाट यि सवै ग्रहण नदेखिन पनि सक्छ ।

यो चन्द्रग्रहण श्रवण नक्षत्रमा पर्ने हुदाँ, स्त्री राज्य प्रमुख, मन्त्री शासक, साधु र जलबाट जीविकोपार्जन गर्नेलाई कष्टकर मानिएको छ । कूर्म चक्रको अनुसार पूर्व र आग्नेय कोण दिशाको नक्षत्रमा ग्रहण परेको हुनाले पूर्व र दक्षिण दिशाको शहरमा उपद्रो र अग्नीकाण्ड वा प्राकृतिक विपक्तिबाट हानिको सम्भावना मानिएको छ । ग्रहणको आरम्भ अग्नी मण्डल तथा ग्रहणको मोक्ष वरुण मण्डलमा हुने भएको हुदाँ अग्नी मण्डलमा ग्रहण हुनाले ज्वालामुखि, वम विस्फोटक आदिको फलादेश छ । वरुण मण्डल मा ग्रहणको समयमा वायू मण्डलबाट नकरात्मक उर्जा निस्कने हुदाँ गर्भवति महिलाले सावधानी अपनाउनु पर्छ । यस पालीको ग्रहण शनि निकट चन्द्रमा मा मंगलको दृष्टि हुने र वुध मंगलबाट केन्द्रमा हुनाले भूकम्प योग मानिन्छ । शनि धनु राशिमा हुनाले केही पाप ग्रह उसको निकट प्रलयकारक योग हुन्छ । यस ग्रहणबाट नेपालको पूर्वी भूभाग, पश्चिम वंगाल, विहार उडिसा, कलकता आजबाट माघ २९ गते सम्म भूकम्प जान सक्ने अनुमान गर्न सकिन्छ । जसमा यही माघ २५ गते अनिष्टको सम्भावना वढि हुन आउछ ।

ग्रहण लाग्नु भन्दा पहिले सुतक समय मानिन्छ । सूतकको समयमा दैनिक गरिने पूजा पाठ गरिदैन । मठ मन्दिरको दर्शन र मूर्ति स्पर्श गरिदैन । मन्दिरको ढोका बन्द गरिन्छ । घर घरमा रहेको पूजा कोठामा राखिएका देवता वा पूजा स्थल कपडाले छोप्ने चलन छ । ज्योतिष शास्त्रमा “निद्रयां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।। अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्प च नगरं व्रजेत् ”।। अर्थात ग्रहणको समयमा खानु, पिउनेकार्य दिशा पिसाव र मैथुन जस्ता कार्यलाई वर्जित गरिएको छ । खासगरि चन्द्रग्रहण लाग्नु भन्दा आठ घण्टा पहिल्यै देखि सूतक वार्न थालिन्छ । नियमित पाठ पूजा गर्न नमिल्ने भएतापनि यस ग्रहण अवधिमा मन्त्र सिद्धि गर्न शुभ मानिन्छ । अरु समय भन्दा चाडो मन्त्र सिद्धि हुने हुदाँ यो समय मन्त्र साधना गर्ने साधककालागि महत्वपूर्ण मानिन्छ । ग्रहण अवधिमा घरमा प्रयोग हुने अच्चार, दूध दही, ध्यू, मह जस्ता खानेकुराहरु ग्रहण समाप्त भएपछि तुलसी पत्रबाट चोख्याएर खाने परम्परा छ ।

नेपाल र भारतबाहेकका अन्यदेशमा सूर्यग्रहणको आध्यामित्क महत्व छैन, तर यसको विशिष्ट वैज्ञानिक महत्व भने संसारको जुनसुकै कुनाका गणितज्ञ र वैज्ञानिकहरूमा देख्न पाइन्छ । संसारभरिका वैज्ञानिकहरूका लागि यो दिन कुनै एउटा ठूलो चाडसरहको दिन हो भन्दा अत्युक्ति हुँदैन । सूर्यग्रहण लागेको दिन सनातन धर्मावलम्बीहरू कठिनतम मन्त्रजाप गर्दछन र सिद्धिप्राप्त गर्दछन भने शोधकर्ता, अन्वेषक र वैज्ञानिकहरूले नयाँ शोध गर्ने अवसर प्राप्त गर्दछन । त्यसैले आध्यात्मिक वा भौतिकवादी जुन दृष्टिबाट पनि धेरैले सूर्यग्रहण लाग्नेप्रतीक्षामा लामो समय बिताउने गर्दछन । ब्रह्माण्ड, सूर्य र सौर परिवारलाई जान्न, बुझ्न र अध्ययन गर्न यस दिन गरिने विशिष्ट प्रयोगको आफ्नै वर्चस्व र महत्त्व छ । आधुनिक विज्ञानले सूर्यग्रहणका दिन सूर्यबाट निसृत हुने किरणको अध्ययन गरी नयाँनयाँ शोधका लागि प्रेरित गर्दछ भने अध्यात्म विज्ञानले यज्ञ, जाप र अनुष्ठानका माध्यमबाट गूढ रहस्य र सिद्धिका लागि मार्गनिर्देश गरेको पाइन्छ ।

चन्द्र ग्रहण कसरी सम्भव हुन्छ त? आउनुहोस यस सम्बन्धमा चर्चा गरौं सामान्य अर्थमा कुनै खगोलीय पिण्डलाई पूर्ण वा आंशिक रुपले कुनै अर्को पिण्डले ढाक्नु नै ग्रहण हो । पृथ्वीबाट हेर्दा जब कुनै खगोलीयपिण्ड कुनै अर्को पिण्डद्वारा बाधित भई नदेखिने अवस्था आउँछ, त्यसलाई सूर्यग्रहण वा चन्द्र ग्रहण भन्ने गरिन्छ । सूर्य आकाशको एउटा उज्ज्वल नक्षत्र र प्रकाश पिण्ड हो, जसको चारैतिर सौर्य परिवारका ग्रहहरू आफ्ना उपग्रहका साथमा परिक्रमा गर्ने गर्दछन । हामी बस्ने पृथ्वी सौरपरिवारको एउटा सदस्य ग्रह हो । यसमा हामीले बसोबास गर्ने भएकाले यहाँबाट हेर्दा पृथ्वीको रेखामा अरू कुनै दुईवटा खगोलीय पिण्डहरू सँगसँगै आइपुगेको अवस्था सिर्जना भएको छ भने ग्रहण लाग्छ । पृथ्वी बीचमा रहेर यसको माथि र तल समान रेखामा सूर्य र चन्द्रमा आएकोवेला चन्द्र ग्रहण लाग्दछ भने पृथ्वी र सूर्यको माझमा चन्द्रमा आइपुगेपछि सूर्यग्रहण लाग्दछ । अतः सूर्यग्रहणको संरचना आंशिक वा पूर्णरूपले चन्द्रमाद्वारा ढाकिएको अवस्थामा मात्र हुन्छ, त्यसैले त्यस वेला पृथ्वीमा बसोबास गर्ने आममानिसले चन्द्रमाद्वारा ढाकिएको सूर्यको भाग वा अंश देख्न सक्दैनन ।

पूर्वीय ज्योतिषमा उल्लेख भएअनुसार सूर्यग्रहणको सिर्जना हुन निम्न तथ्य हुनु आवश्यक ठानिन्छ :

# सूर्यग्रहण लाग्ने दिन अमावस्या औंसी तिथि हुनु आवश्यक छ ।

# ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखांश क्रमशः राहु र केतुको नजिकमा हुनु पर्दछ ।

# त्यस्तै चन्द्रमाको अक्षांश शून्य नजिक हुनु पनि आवश्यक हुन्छ ।

# यद्यपि ग्रहणको गणितीय स्थिति रात्रीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो सूर्योदयदेखि सूर्यास्तसम्मको समयमा मात्र हुन सक्दछ ।

यहाँ रेखांश भन्नाले पृथ्वीको उत्तरी धु्रवदेखि दक्षिणी धु्रवसम्म काल्पनिक ढंगले कोरिएको रेखा भन्ने हो, जसलाई देशान्तर पनि भनिन्छ । त्यस्तै भूमध्यरेखाको तल र माथि समानान्तर ढङ्गले कोरिएका काल्पनिक रेखालाई अक्षांश भन्ने गरिन्छ । सूर्यग्रहण सदैव अमावस्या (औंसी) का दिन लाग्ने गर्दछ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार सूर्य ग्रहण मत्स्य पुराणमा सूर्य ग्रहण र चन्द्र ग्रहणको कथाको सम्बन्ध राहु र केतु नामका दुईवटा ग्रह एवं तिनले अमृत पान गरेको कथासँग गाँसिएको देखिन्छ । कथाबमोजिम राहु र केतुको स्वरूप स्वर्भानु नाम गरेको एउटा राक्षसको टाउको र गिंडेबाट सिर्जना भएको हो । समुद्रमन्थनपछि अमृत वितरणका समयमा दैत्यगुरु शुक्राचार्यले गुप्तचरका रूपमा स्वर्भानुलाई देवसभामा पठाएका थिए । त्यहाँ देवता र दैत्यहरूलाई पङ्क्तिबद्ध राखेर मोहिनी रूपमा भगवान विष्णु अमृत वितरण गर्दै थिए । भगवान शिवको परमभक्त भएकाले शिवकृपाका कारण स्वर्भानुले विष्णुको मोहिनी रूपलाई चिनेको थियो । त्यसैले ऊ देवताको रूप धारण गरी सूर्य र चन्द्रमाको बीचमा गएर देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो ।राहु र केतु अमृतपान गरेकाले स्वर्भानुले अमरत्व प्राप्त गर्यो । तर उसले अमृतपानगरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर लाई छेदन गरी छुट्याइदिनु भयो।

आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले पटकपटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्न, जुन ग्रहणका रूपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको कक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।ग्रहण लागेको वेला के गर्ने र के नगर्नेविज्ञानले ग्रहणलाई भौतिक दृष्टिकोणले जति महत्त्व प्रदान गर्दछ, सनातन हिन्दू धर्मले यसलाई त्यत्तिकै आध्यात्मिक महत्त्व प्रदान गर्दछ । हाम्रा ऋषि मुनिहरूले सूर्य ग्रहणको अवधिभरी र सूर्यग्रहण लाग्नुअघिको चार प्रहर (१२ घण्टा) को अवधिमा भोजनादि गर्नु हुँदैन भनेका छन । ग्रहण अवधिमा सूर्यबाट निःसृत हुने किरण असामान्य हुन्छ,जसका कारण पृथ्वीका जीवजन्तु र किराफट्याङ्ग्राहरू अत्तालिन्छन र यत्रतत्र विचरण गर्ने गर्छन । त्यसैले सूक्ष्म कीटाणुको संसर्गले अन्नजल आदि दूषित हुन्छ । त्यसरी दूषित भएको अन्नजल स्वास्थ्यका दृष्टिकोणले ग्रहण गर्नु हीतकारी हुँदैन भन्ने तर्क हाम्रा आचार्य र ऋषिमुनिको हो ।

वैज्ञानिक र डाक्टरहरूले पनि हाल यस तथ्यलाई स्वीकारेको पाइन्छ । धार्मिक मान्यताअनुसार ग्रहणको समयमा खाद्य वस्तु, जल आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर तिनलाई दूषित तुल्याउँछन । पौराणिक मान्यताबमोजिम चन्द्र ग्रहणको समयमा कफको प्राधान्य हुन्छ एवं मनको शक्ति क्षीण हुने गर्दछ, जबकि सूर्य ग्रहणको समयमा जठराग्नि, आँखा तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गर्नुहुँदैन,अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ । सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै नभए पनि उसको मानसिक र दिमागी सन्तुलनमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरूले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो ।

ग्रहणकालमा र ग्रहणको समाप्तिमा स्नानोपरान्त गरीब गुरुबा, जोगीसन्यासी र ब्राह्मणलाई अन्न, वस्त्र, भूमि, स्वर्ण, गौ, शैया, छाता, जुत्ता आदि दान गर्ने विधान छ। ग्रहणकालमा दान गर्ने अनुकूलता नभएमा ग्रहणसमाप्त भए पनि दिनभरिमा ब्राह्मण, गरीवगुरुबा, मठमन्दिर, प्रतिष्ठान, अनाथालय, बृद्धाश्रममा गई दान गर्नु वाञ्छनीय छ । त्यसरीदान गर्दा ग्रहण लागेको महिनाको कुल आम्दानीको दशांश दान गर्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =