मापदण्ड विपरीत मासु बेच्नेको ढकतराजु जफत

जुम्ला, २० असार । सदरमुकाम खलङ्गामा मापदण्ड विपरीत मासु बेच्ने ६ जना मासु पसलेको ढकतराजु जफत गरिएको छ । सोमबार जिल्ला पशुसेवा कार्यालय जुम्लाको संयोजनमा सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा नेतृत्वको अनुगमन टोलीले ६ मासु पसलेको ढकतराजु जफत गरेको हो । अनुगमन टोलीले नापतौलको सन्तुलन नमिलेका, ढुङ्गा राखेर तौलने गरेको, गुणस्तर तथा नापतौल विभागको स्टिकर नटाँसेका ढकतराजु प्रयोगमा ल्याएको पाइएकाले उनीहरुको त्यस्ता ढकतराजु जफत गरेको सहायक प्रजिअ बुढथापाले जानकारी दिनुभयो ।

“नेपाल सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण नभएका नापतौलबाट उपभोक्तालाई ठगिनबाट बचाउन र व्यवसायीलाई सचेत गराउन ढकतराजु जफत गरिएको हो,” बुढथापाले भन्नुभयो । यहाँका १० वटा मासु पसलको अनुगमन गरिएको थियो ।


वरिष्ठ पशु विकास अधिकृत डा माधवप्रसाद अर्यालले ढकतराजु जफत गरिएका मासु पसलेलाई कैफियत गरेको महसुस गर्न लगाउने र आगामी दिन त्यसो नगर्न कबुलियतनामा गराउने बताउनुभयो । अब उद्योग वाणिज्य सङ्घ जुम्लाको सहजीकरणमा नापतौल विभागलाई यहाँ बोलाएर व्यवसायीलाई सचेत गराइने उहाँको भनाइ थियो । चन्दननाथ नगरपालिकामा रहेका २० वटा मासुपसल न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको बताइएको छ ।

धेरै मासु पसलमा राखेका फ्रिज, मासु राख्ने भाँडा र काट्ने ठाउँ अव्यवस्थित रहेको पाइएको थियो । मासु पसलेहरुले मासु काट्दा डि–फ्रिज, पञ्जा, पोसाक, टायल, जाली राख्नुपर्छ भने वैधानिकता पूरा गर्न स्थायी लेखा नम्बरसहित मूल्यसूची राख्नुपर्छ । तर धेरै पसलमा त्यसो गरिएको पाइएन ।

पशु विकास अधिकृत गोविन्द महतले नमुना फ्रेस हाउसबाट सडेको प्यारेन्ट्स कुखुराको तीन केजी मासु जफत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलीमा रहेको शाही फ्रेस हाउसमा मल र मासु एकै ठाउँबाट बिक्री वितरण गरेको भेटियो ।” तथापि विगतमा भन्दा अहिले केही मात्रामा सुधार आएको उहाँको भनाइ छ । ओमराज फ्रेस हाउस बसपार्क जुम्लाका मालिक लक्ष्मी रावलले बजारमा मासुको दरमा एकरुपता नभएको बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *