कति बलिया छन् हाम्रा उप–मेयर, गाडी नपाएपछि माइन्युट नै च्याचुत !

“
जनकपुर (माघ), १५ । ‘म स्कुटी लिएर गाउँ-गाउँ कसरी जाने’ चल्दै गरेको बैठकमा उपमेयर मीनाकुमारी यादवले रिस थाम्न सकिनन् । त्यसपछि जुरुक्कै उठेर नगर कार्यपालिका बैंठकको माइन्युट मुर्मरिदै च्यातचुत पारिन् ।
स्थानीय तह निर्वाचनबाट धनुषाको गणेशमान चारनाथ नगरपालिकाको उपमेयर बनेकी मीनाकुमारी यादवले गाडी नपाएपछि बैंठकको माइन्युट मात्रै च्यातिनन् । कर्मचारीलाई तथानाम गाली गलैज गर्दै भनिन्,‘स्कुटी कि गाडी दिनुपर्ने हो मलाई त्यति पनि गर्न सक्दैनौँ ।’ यति भन्दै उनले नगर कार्यपालिका बैठकको माइन्युट च्याचुत पार्दै भुइँमा फालिन् ।
भएको के रहेछ भने, बैठकको प्रस्ताव राख्ने क्रममा नगरले मेयर रामबाबु यादवलाई जसरी गाडी सुविधा दिने विषयमाथि कुनै कुरा उठान नगरेपछि उनले रिस थाम्न सकिनन् । बैंठकको अन्तिम अवस्थासम्म पनि उनले आफूलाई गाडीको व्यवस्था होला भन्नेमा ढुक्क नै थिइन् । तर, बैंठकले त्यो निर्णयबारे कुनै छबलफल नै नगरेपछि उनले त्यहाँ रहेका कार्यकर्तालाई गालीगलैज गर्न पुगिन् । त्यसपछि सकिन लागेको नगर कार्यपालिका बैठक स्थगित हुन पुग्यो । नगरपालिकाका मेयर रामबाबु यादवले निर्वाचित भएपछि एउटा सुबिधासम्पन्न गाडी चढ्दै आएका छन् भने उपमेयर यादवलाई चाहीँ स्कुटीमै थन्क्याइने पक्का भएपछि यो घटना घटेको स्रोत बताउछ ।
उपमेयर यादवले धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिएको तर आफूलाई मेयर र कार्यकारी अधिकृतले त्यो सुविधा नदिएको भन्दै त्यसको रिस कार्यकर्ता तथा कर्मचारीमाथि पोखिन् । बैंठकमा आफूले गाडी सुविधासहित १० बुँदा राखे पनि यसबारेमा चित्तबुझ्दो जवाफ नआएपछि माइन्युट च्यातेको बताइन् । ‘‘बैंठकमा मैले गाडीसहित १० वटा बुँदा बुझाएको हुँ । त्यसमध्ये अरुभन्दा पनि गाडी नछुटोस् भनेर कर्मचारीलाई पटक पटक निर्देशन दिएको थिए । तर अहिले त्यो प्रस्ताव एकाएक गुमनाम बनाइयो ।’ उनले रिसाउँदै भनिन्,‘के म स्कुटी लिएर नै गाउँगाउँ जाने ? हो, यो नभएपछि मैले सिग्नेचरको साट्टो माइन्युट नै च्यातिदिएँ ।’
“








