बादलका लागि बेदुरामको बलिदानी

काठमाडौं, माघ १५ । माओवादी केन्द्रका नेता रामबहादुर थापाको जित सुनिश्चित गर्न एमाले नेता बेदुराम भुसालको उम्मेदवारी फिर्ता गर्ने भएको छ । प्रदेश नम्बर ३ मा वाम गठबन्धनले ‘बादल’ डेन्जर जोनमा परेपछि भुसालको उम्मेदवारी फिर्ता लिएको हो ।

साना पार्टीहरूको समर्थन वाम गठबन्धनलाई नहुने देखेपछि भुसालको उम्मेदवारी फिर्ता भएको हो।

यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो।

एमालेबाट बलराम बास्कोटा र बेदुराम भुसाल तीन नम्बर प्रदेशबाट खुलातर्फ उम्मेदवार बनेका थिए। विवेकशील साझा र नयाँ शक्तिले कांग्रेस उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने भएपछि खुलातर्फ वामगठबन्धनका २ उम्मेदवारले मात्रै जित्न सक्ने भन्दै बादलको जित सुनिश्चितताको लागि बेदुरामको उम्मेदवारी फिर्ता गर्न लागिएको एक नेताले जानकारी दिए।

साना दलसँग सहयोगको आग्रह
गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा बढी सिट जित्ने रणनीति बनाएको छ।

सोमबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अत्यधिक उम्मेदवारलाई विजयी बनाउन अन्य दलहरूसँगको छलफललाई अघि बढाउने निर्णय गरेको हो।

विशेष गरेर प्रदेश नम्बर ३ लगायत केही प्रदेशका कमजोर उम्मेदवारलाई विजयी बनाउन अन्य दलसँगको मत तान्ने रणनीति वामगठबन्धनले बनाएको छ।

बैठकमा कार्यदलले दिएको सुझावका आधारमा जित निश्चित भएका उम्मेदवारबाहेक जोखिम र कमजोर उम्मेदवारलाई जिताउन अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

वामगठबन्धन वा नेपाली कांग्रेसको उम्मेदवारको जितमा अन्य दलसँग रहेको मत निर्णायक भएकाले त्यो हासिल गर्ने प्रयासमा दलीय छलफल अघि बढाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा तथा एमाले नेताहरू माधवकुमार नेपाल र नेम्वाङ सहभागी थिए।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =