भोलि शहीद दिवस ! तर,गृहसँग एक जना शहीदको नाम छैन

काठमाडौँ, माघ १५ । भोलि मंगलबार शहीद दिवस । तर, गृहमन्त्रालयसँग कुनै डाटा नै छैन । त्याग,बलिदानीको स्मरण गर्दै भोलि राज्यले सार्वजानिक विदा समेत दिएको छ । तर, पछिल्लो समयमा सत्तामा जो पुग्छन ,नेताको गोजीबाट शहीद घोषणा गर्ने परिपाटी मौलाउदै गएको छ । जस्ले गर्दा सच्चा शहीदहरुको अपमान हुन पुगेको छ । कार्यकर्तालाई धमाधम शहीद बनाइदिँदा वास्तविक शहीदहरुमाथि अन्याय भएको छ । राणा शासन विरुद्ध आफ्नो ज्यानको आहुति दिएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सम्झना अहिले पनि गरिन्छ । पहिलो र दोस्रो जनआन्दोलनमा मारिने प्रति पनि स्मरण र सम्मान उत्तिकै रूपमा गर्ने गरिन्छ ।

तर,पछिल्लो समयमा सत्तामा जो पुग्छन तिनकै कार्यकर्ताहरुलाई शहीद घोषणा गर्ने होड नै चलेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले आठ महिनाको अवधिमा २ सय ६६ जनालाई शहीद घोषणा गरिसकेको छ । ती मध्ये १ सय ९० जनालाई गत पुस ३ मा एकैदिन शहीद घोषणा गरिएको हो । पछिल्लो पटक बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५६ जनालाई शहीद घोषणा गरेको छ । साउन १२ मा आठ जनालाई र साउन ५ मा १२ जनालाई सहिद घोषणा गरिएको थियो । पुस ३ को निर्णय भने सरकारले गोप्य नै राख्यो ।

प्रधानमन्त्री कार्यालयका अनुसार उक्त दिन तीन दर्जन व्यक्तिलाई मात्रै सहिद घोषणा गर्ने प्रस्ताव गृहबाट आएकोमा मन्त्रीका गोजीबाट नाम थपेर १ सय ९० जना र्पुयाइएको थियो । प्रधानमन्त्री कार्यालयले १ सय ९० जनालाई शहीद घोषणा गरिएको चिठी झन्डै एक महिनापछि गृहमा पठाएको थियो । गृह मन्त्रालयका सहायक प्रवक्ता उमेश ढकालले मापदण्ड नै नभएकाले सहिद घोषणा प्रक्रिया वैज्ञानिक र वस्तुनिष्ठ हुन नसकेको स्वीकार गरे । ढकालले हाल मन्त्रालयसँग एक जना शहीदको डाटा पनि नरहेको बताए । तर, कारण बताएनन् ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको प्रस्तावमा केही समयअघि ठूलो संख्यामा शहीद घोषणा गरिएको भए पनि त्यो सूची हालसम्म प्राप्त नगरेको गृहका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयलका उप सचिव मिरा आचार्यले पनि सरकारले धमाधम गरेको शहीद घोषणाप्रति आपत्ति जनाए । अरुको ज्यान मार्ने, आन्दोलनमा सरिक हुने क्रममा मृत्युवरण हुने, बलात्कारी सम्मलाई सरकारले शहीद घोषणा गर्न पछि हटेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =