आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिंदै

काठमाडौं, असार २० । असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा सयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व ब्रत, पूजा–पाठ गरी मनाईंदैछ । जेठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका दिन घर–घरमा राखिएको तुलसीको दलबाट आजै विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नु हुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।

चतुर्माससमेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनोकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यी चार महिनासम्म व्रत बस्नेले निश्चित विधि पालना गर्नुपर्छ । जसअनुसार साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने चीजबीज खान नहुने प्रचलन रही आएको छ ।

असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *