सरकारले अर्थतन्त्र डामाडोल पार्याे : ओली

“
काठमाडौं, माघ १५ । एमाले अध्यक्ष केपी ओलीले बर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई डामाडोल पारेको आरोप लगाएका छन् । बामपन्थी सरकार बनेपछि देशमा सम्बृद्धिको ढोका खुल्ने पनि उनले दावी गरेका छन् ।
सोमबार पार्टी कार्यालयमा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई बधाइ दिने क्रममा अध्यक्ष ओलीले बामपन्थी सरकार बनेलगत्तै मुलुकमा सम्बृद्धिको ढोका खुल्ने र लगानीकर्ताहरु उत्साहित हुने बताए । उनले बामपन्थीको सरकार बन्ने दिन नजिकिएको भन्दै दिपावली गर्न तयार भएर बस्न आग्रह समेत गरे ।
‘बामपन्थी सरकार बनेपछि यो दशेमा लगानी कर्ताले कुनै चिन्ता लिनुपर्दैन, देशमा सम्बृद्धिको ढोका खुल्छ, शेयरबजार उछालमा आउनेछ’ ओलीले भने ।
बामपन्थीहरु गैरजिम्मेवार हुन नसक्ने भन्दै ओलीले बर्तमान सरकार अलोकतान्त्रिक आचरणहिन भएपनि अव बन्ने सरकार त्यस्तो हुनै नसक्ने दावी गरे । उनले जाने बेलामा पनि यो सरकारले संविधान र कानुनविपरित अर्थतन्त्र डामाडोल पारेको आरोप लगाए ।
‘अवको सरकार त्यस्तो हुदैन, अव बन्ने सकरारले तीन खम्बे नीति अनुसार काम गर्छ ।’
लगानी कर्ताहरुलाई लगानी गर्न आव्हान गर्दै ओलीले अन्डरग्राउण्ड पैसालाई सुद्धिकरण हुने बाटो सरकारले दिन नसकेको बताए । ‘लोकतन्त्रको पर्यायवाची भन्ने यो सरकारले १० लाख रुपैयाँ बैकमा राख्न र निकाल्न जनतालाई सास्ती दिने गरेको छ ।अव त्यस्तो हुदैन ।’ अव बन्ने सरकारले लगानीमा एकद्धार प्रणाली लागु गर्ने तथा नीजिकरणका नाममा सरकारी उद्योग धन्दा विक्रि हुन नदिने ओलीको प्रतिवद्धता थियो ।
ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताए ।
उनलेले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गरे ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले वाम गठबन्धनले बहुमतसहित निर्वाचन जितेर स्थायी सरकार बन्न लागेकामा उद्योगी व्यवसायीले सकारात्मकरुपमा लिएको बताएका थिए ।
“








