पुस्तकको रोयल्टी चेपाङको शिक्षामा

भरतपुर, माघ १४ । परोपकारी अभियन्ता तथा लेखक रविन्द्र मिश्रले आफ्नो पुस्तकको रोयल्टी चेपाङ बालबालिकाको शिक्षामा खनाएका छन् ।
चितवनका चेपाङ बालबालिकालाई शिक्षा प्रदान गरिरहेको मितेरी फाउन्डेसनलाई पुस्तकका लेखक मिश्रले ३ वटा पुस्तकको रोयल्टी तीन लाख ५० हजार प्रदान गरेका हुन् । मिश्रले आफ्ना पुस्तक ‘भूमध्ये रेखा’, ‘खान पुगोस् दिन पुगोस्’ र ‘रविन्द्र मिश्रका कविताहरु’बाट प्राप्त भएको रोयल्टी फाउन्डेसनका अध्यक्ष एकल सिलवाललाई हस्तान्तरण गरेका थिए ।

‘मेरो तीन पुस्तकको रोयल्टी तीन लाख ५० हजार रुपैयाँ चेपाङ बालबालिकाको शिक्षामा खर्च गर्न पाउँदा म अत्यन्तै खुसी भएको छु’ मिश्रले भने । उनले नेपालीहरुमा परोपकारी क्षेत्रमा खर्च गर्ने प्रद्धतिमा क्षयीकरण हुँदै गएको बताए । उनले भने, ‘हाम्रा बाबुबाजेका पालामा खाना पकाउने बेलामा एक मुठी खान नपुग्नेहरुलाई छुट्टाएर राख्थे तर अहिले यस्तो चलन हट्दै गएको छ ।’

लेखक मिश्रले यसअघि पनि पटकपटक पुस्तकको रोयल्टी मितेरी फाउन्डेसनलाई बुझाएका थिए । ‘पुस्तकका लेखक मिश्रबाट रोयल्टीबापत्को रकम हालसम्म ११ लाख रुपैयाँ मितेरी फाउन्डेसनलाई प्राप्त भएको छ’ फाउन्डेसनका अध्यक्ष एकल सिलवालले बताए । उनले भने्, ‘प्राप्त रकम चेपाङ बालबालिकाको शिक्षामा खर्च गर्ने छौँ ।’ मितेरी फाउन्डेसनले विकट लोथरको कान्दामा चेपाङ बालबालिकाको शिक्षाको लागि स्कुल सञ्चालन गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीले नेपालमा जहाँ गए पनि त्यहीँ समस्या भएकाले देश आत्मनिर्भरतर्फ अघि बढ्नुपर्ने बताए । उनले भने, ‘अब कृषकलाई गोष्ठी होइन, बीउ दिनुपर्छ । कम्बल बाँढेर होइन, आत्मनिर्भर हुने बाटो सिकाउनुपर्छ ।’

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले चेपाङ बालबालिकालाई असल शिक्षा दिलाउन के सहयोग गर्नुपर्ने हो, सहयोगी हातहरु बढाउन आफू तयार रहेको बताए । मितेरी फाउन्डेसनका सल्लाहकार राजेश्वर खनालले मितेरी फाउन्डेसन परोपकारी काममा लागिरहने बताए । कार्यक्रममा चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङले चेपाङ जाति अन्यायमा परेको हुनाले यिनीहरुको उत्थानको लागि राज्य नै लाग्नुपर्ने बताए ।

मितेरी फाउन्डेसनले परोकारी अक्षय कोष स्थापना गरेर विकट कान्दामा रहेको कान्देश्वरी राप्राविमा पढ्ने चेपाङ बालबालिकालाई सहयोग गर्दै आइरहेको अध्यक्ष सिलवालले जानकारी दिए । फाउन्डेसनले कान्देश्वरी राप्राविकाका शिक्षक बालकृष्ण थपलिया र अध्यक्ष चन्द्रबहादुर तामाङलाई एक लाख बराबरको चेक प्रदान गरेको थियो । सो विद्यालयमा १५३ विद्यार्थीहरु छन् । विद्यार्थीहरुलाई दिवा खाजा २०६८ सालदेखि नै मितेरी फाउण्डेसनले गर्दै आएको शिक्षक थपलियाले जानकारी दिए । कार्यक्रममा लेखक रविन्द्र मिश्रले परोपकारी कविताहरु वाचन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =