राष्ट्रियसभामा प्रदेश २ बाट सबै सांसद निर्विरोध

“जनकपुर, माघ १४ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ का सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले तोकेको समयमा संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले खुला समूहबाट उम्मेदवारी फिर्ता लिएपछि प्रदेश २ बाट उम्मेदवारी दिएका आठै जना निर्विरोध निर्वाचित भएका हुन् ।
खुला समूहको तीन दलका लागि चार जनाको उम्मेदवारी परेको थियो । हुसेनले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेको थियो ।
महिला समूहबाट माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव तथा फोरमकी प्रमिला कुमारी तथा अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल तथा दलित कोटाबाट फोरमका रामप्रित पासवान निर्विरोध भइसकेका थिए ।”








